नेपाललाई भारतद्वारा २०३ रनको लक्ष्य-Sutra News

नेपाललाई भारतद्वारा २०३ रनको लक्ष्य

मंगलबार, १६ असोज २०८०

मंगलबार, १६ असोज २०८०

काठमाडौँ। चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको सेमिफाइनलमा पुग्न नेपालले दुई सय तीन रन बनाउनु पर्ने भएको छ । प्रतियोगिताको क्वार्टरफाइनल खेलमा भारतले नेपाललाई दुई सय तीन रनको लक्ष्य दिएको हो ।



टस जिती पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले एक सय रन बनाए । जैसवाल र रुतुराज गाइकवाडले ओपनिङ विकेटका लागि एक सय तीन रनको साझेदारी गरेका थिए । गाइकवाड २५ रन बनाउँदै आउट भए ।

भारतका लागि शिवम दुबेले अविजित २५ रन र रिन्कु सिंहले अविजित ३७ रन बनाए । नेपाली बलर दीपेन्द्र सिंह ऐरीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक—एक विकेट लिए । नेपालको फिल्डिङ खासै प्रभावकारी देखिएन । नेपाली फिल्डरले केही गतिला अवसरलाई खेर फालेका थिए ।

भारतको पहिलो विकेट नेपाली बलर दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले भारतका ओपनर ब्याट्सम्यान रुतुराज गाइकवाडको विकेट लिएका हुन् । उनले रुतुराजलाई २५ रनको व्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । रुतुराज भारतीय टोलीका कप्तान पनि हुन् । पहिलो विकेट गुमाउँदा भारतले ९।१ ओभरमा एक सय तीन रन बनाएको थियो ।

यसैगरी भारतीय टोलीको दोस्रो विकेट सोमपाल कामीले लिएका हुन् । उनले भारतीय ब्याट्सम्यान तिलक बर्मालाई दुई रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए । सोमपालले तिलकलाई बोल्ड गरेका हुन् । दोस्रो विकेट गुमाउँदा भारतले ११।४ ओभरमा एक सय ११ रन बनाएको थियो ।

यसैगरी भारतको तेस्रो विकेटका रुपमा जितेश शर्मा आउट भएका थिए । उनको विकेट नेपाली बलर सन्दिप लामिछानेले लिएका हुन् । सन्दीपले उनलाई पाँच रनको व्यक्तिगत स्कोरमा आफ्नो बलिङमा आफैले क्याच गरे । भारतले तेस्रो विकेट गुमाउँदा १२।५ ओभरमा एक सय १९ रन बनाएको थियो ।

यसैगरी दीपेन्द्रसिंह ऐरीले भारतको चौथो विकेट लिएका थिए । उनले भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाललाई पेभेलियन फर्काएका थिए । जैसवाल शतक बनाएलगत्तै पेभेलियन फर्किएका थिए । ऐरीले उनलाई अविनाष बोहराद्वारा क्याच गराएका थिए । चौथो विकेट गुमाउँदा भारतले १६।२ ओभरमा एक सय ५० रन बनाएको थियो । पेभेलियन फर्किनुअघि जैसवालले ४९ बलमा सात छक्का र आठ चौकाको मद्दतले शतक पुरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट