

काठमाडौंं । युद्धग्रस्त इजरायलबाट स्वदेश फर्किन ३५० जना नेपालीले आवेदन दिएका छन् । इजरायलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार साँझसम्म ३५० जनाले आवेदन दिएका हुन् । आवेदन लिने क्रम चलिरहेको र केही थपिन सक्ने दूतावासले जनाएको छ ।
दूतावासले जनाएअनुसार आवेदन दिएकाहरुलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरिएको छ ।
इजरायल र गाजाको सीमा नजिक रहेका सबै ५५ जना विद्यार्थीको उद्धार गरिएको दूतावासले जनाएको छ । यस्तै, उत्तरी इजरायलमा रहेका ७२ जनालाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।
दूतावासले जनाएअनुसार घाइते भई उपचाररत चार जनाको स्वास्थ्य अवस्थामा सुधार भएको छ । तर, सम्पर्कबिहीन एक जना नेपाली विद्यार्थीको भने हालसम्म अवस्था अज्ञात नै रहेको दूतावासले जनाएको छ । उनको खोजी कार्य भइरहेको जनाइएको छ ।
गत शनिबार प्यालेइस्टाइनी समूहले गरेको आक्रमण परि १० जना नेपाली विद्यार्थीको निधन भएको थियो । निधन भएकाहरुको शव ल्याउने विषयमा पनि तयारी भइरहेको दूतावासले जनाएको छ । तर, उक्त प्रक्रिया सक्न थप केही दिन लाग्न सक्ने जनाइएको छ ।