काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने विषयमा छलफल चलेको छ । शुक्रबार बसेको पदाधिकारी बैठकमा सो विषयमाथि छलफल चलेको हो ।
बैठकमा अधिकांश पदाधिकारीले सरकारमा सहभागि हुनुपर्ने मत जाहेर गरेका छन् । एक नेताले बताएअनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पुनः सरकारमा सहभागि हुनुपर्ने कुरा नेताहरुले राखेका छन् ।
बताइएअनुसार स्वयम् अध्यक्ष लिङ्देनले पनि सरकारमा जानुपर्ने राय राखेका छन् । बैठकमा कतिपयले सरकारमा को–को जाने भनेरसमेत छलफल चलाएको बुझिएको छ ।
शुक्रबारको बैठकमा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुुद्धिमान तामाङ, विक्रम पाण्डे र रोशन कार्की, महामन्त्री कुन्ती शाहीलगायतले सरकारमा सहभागि हुनुपर्ने भनाई राखेका थिए । तर, उपाध्यक्ष रविन्द्र मिश्रले भने प्रचण्ड नेतृत्वको सरकारमा कुनै पनि हालतमा सहभागि हुन नहुने अडान लिएको बुझिएको छ ।
सरकारको विषयमा नेताहरु विभाजित भएपछि शुक्रबारको बैठकमा पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी भने मौन रहेको ती नेताले बताए ।
शुक्रबार कोशी प्रदेशको सन्दर्भमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको थियो । तर, बैठकमा कोशीको विषयसँगसँगै केन्द्र सरकारको सन्दर्भमा पनि छलफल चलेको हो ।
केही दिनअघि मात्रै प्रधानमन्त्री प्रचण्डसँग लिङ्देनले भेट गरेका थिए । बालुवाटारमा भएको उक्त भेटमा प्रचण्डले लिङ्देनलाई सरकारमा सहभागि हुन भनेका थिए । तत्कालिन सत्ता गठबन्धन विभाजित भएसँगै राप्रपा गत फागुन १३ मा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो ।