काठमाडौं । कोशी घटनासँगै कांग्रेस–माओवादी गठबन्धन नेतृत्वको सरकारमाथि प्रश्नचिन्ह खडा भएको छ । राजनीतिक वृत्तबाट कोशीको प्रभाव सबै प्रदेश तहसँगै केन्द्रमा पनि पर्नसक्ने टिप्पणी हुन थालेका छन् । यही घटनालाई देखाएर कतिपयले गठबन्धन सरकारको आयुसमेत तोक्न थालेका छन् ।
एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको आयु बढीमा दुई महिना मात्रै भएको दाबी गरेका छन् । उनले मंसिरपछि राजनीतिक अवस्था नयाँ बन्ने बताएका छन् ।
एमालेको रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रचण्ड सरकारको आयु कोशीले संकेत गरेको बताए ।
“कोशीमा जुन खालको अवस्था बन्यो, त्यसले अहिलेको सरकारको दिनगन्ती सुरु गरेको छ, अहिलेको सरकार बदलिएर नयाँ राजनीतिक समीकरणतर्फ मुलुक जान्छ भन्ने सम्भावना देखाएको छ”, पाण्डेले भनेका छन्, “यो सरकारको आयु दुई महिना (मंसिर)सम्म राखिदिए हुन्छ ।”
उनले केही तथ्य तथा सूचना आएको भन्दै सबै प्रदेश तह र केन्द्र तहमा छिट्टै सरकार समीकरण परिवर्तन हुने बताए ।
यद्यपि, कोशीको घटनालगत्तै कांग्रेसले कार्यसमिति बैठक बोलाएर छलफल गरेको छ भने गठबन्धनका शीर्ष नेताहरुबीच पनि छलफल भएको छ । सँगै, प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र शेखर कोइरालाकै बीचमा गठबन्धनलाई जोगाइराख्ने कुरामा सहमति बनेको छ ।