काठमाडौं । शनिबारमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच ‘गठबन्धनलाई कमजोर हुन नदिने’ लिखित सहमति भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिमा नेताहरुले कोशीमा गठबन्धनकै सरकार बनाउने पनि भाषा प्रयोग गरेका थिए ।
“हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं, यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं”, बालुवाटारमा भएको लिखित सहमतिमा भनिएको छ ।
तर, शनिबार बिहान भएको लिखित सहमति भने कोशीमा मन्त्रिपरिषद् पुनर्गठनसँगै उल्लंघन भएको छ । कोइराला पक्षीय मुख्यमन्त्री केदार कार्कीले गठबन्धनमात्रै नभई कांग्रेस संस्थापन पक्षलाई समेत पाखा पन्छाउँदै मन्त्रिपरिषद् गठन गरेका छन् । आइतबार कार्कीले आफूँपक्षीय प्रदेशसभा सदस्य शमशेर राई र एमालेका रामबहादुर रानालाई मन्त्रीमा नियुक्त गरेका छन् ।
कार्कीले एमालेका ३९ र कांग्रेसको आफूँपक्षीय आठ प्रदेशसभा सदस्यको हस्ताक्षर जुटाएर मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेशका प्रमुख परशुराम खापुङ्गले सांसदहरुको हस्ताक्षर सनाखतपछि उनलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
कोशीमा सनाखत हुँदै गर्दा बालुवाटारमा प्रचण्ड, देउवा र कोइरालाबीच ‘गठबन्धनलाई नै बलियो बनाउने’ भन्ने लिखित सहमति भएको थियो । उक्त सहमतिसँगै नेताहरुबीच कोइराला पक्षीय नेता कार्कीलाई नै मुख्यमन्त्री बनाउने पनि सहमति भएको थियो ।
जुन सहमतिकै कारण मुख्यमन्त्रीका अर्का दाबेदार इन्द्र आङ्बो पक्ष प्रदेश प्रमुखले बोलाएको सनाखतमै पुगेको थिएन । जससँगै प्रदेश प्रमुखलाई कार्कीलाई नियुक्ति गर्न पनि सहज बनेको थियो । तर, शनिबार भएको बालुवाटारको लिखित सम्झौता भने आइतबार नै तोडिएको देखिन्छ ।
बालकोट भेटपछि फेरि वातावरण
मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै मुख्यमन्त्री कार्की काठमाडौं आइपुगेका थिए । काठमाडौंमा आएका कार्कीले नेता शेखर कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । कार्कीले नेताहरुलाई उनीहरुको निवासमै पुगेर भेटेका थिए ।
काठमाडौंमा कार्कीको आगमनपछि ‘बालुवाटार सहमति’ तोडिएको देखिन्छ । जुन सहमतिको आशय विपरित नै आइतबार कोशीमा मन्त्रिपरिषद् गठन भएको छ ।
मन्त्रिपरिषद् गठनपूर्व एमालेका नेता एवम् पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले दुई दल (एमाले र कांग्रेस)भन्दा बाहेकका दलहरु सरकारमा सहभागि नहुने बताएका थिए । उनले अन्य दल सहभागि हुने अवस्थामा एमाले सरकारमा नरहने पनि स्पष्ट पारेका थिए ।
“अहिले कांग्रेसको एउटा टिम हामीसँग आएको छ, कांग्रेसको पुरै टिम आउँछ भन्ने विश्वास छ, कांग्रेस र हाम्रोबीचमा सहमति हुन्छ, दुई पार्टी बसेर कसरी अगाडि बढ्ने निर्णय हुन्छ, यो सरकार सहमति वा अन्य भन्ने कुरा हामीले सोंचेका छैनौ”, उनले भनेका छन् ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले भने आफू नेतृत्वको सरकार सहमतिको बन्ने बताएका छन् । “कोशीमा मध्यावधिको सम्भावना टरेको छ, अब प्रदेशसभा विघटन हुँदैन”, सपथपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन्, “अब सहमतिको सरकार बन्छ ।”
तर, कांग्रेसलगायतका दलहरुसँग सामान्य छलफलसमेत नगरी मन्त्रिपरिषद् गठन हुनुले स्वयम् कार्की सहमतिको सरकारभन्दा एमालेसँग सहकार्य गर्नमा उद्धत भएको देखिन्छ । यसले बालुवाटारको सहमति तोडिएको बुझिन्छ ।