काठमाडौं । लिखित सहमति तोडेको भन्दै कांग्रेस नेता शेखर कोइरालाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आक्रोश पोखेका छन् । केन्द्रको सहमति तोड्दै कोशीमा एमाले सांसदलाई मन्त्री बनाइएको प्रचण्डको आरोप छ ।
शनिबार प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाका बीचमा कोशीबारे लिखित सहमति भएको थियो । कोशीको सरकार गठबन्धनकै बनाउने दलहरुबीच सहमति बनेको थियो । तर, सहमति विपरित मुख्यमन्त्री कार्कीले एमालेलाई सरकारमा समेटेका छन् ।
“एमालेले गरेको चलखेल रोकियो भन्ने ठानेको त हिजो फेरि अर्को चलखेल भएछ, हामीले मुख्यमन्त्रीलाई विश्वासको मत लिनुअघि कांग्रेसको एक मात्रै मन्त्री बनाउने भनेको त फेरि एमालेको मन्त्री त्यहाँ छिराइहालेछन्”, प्रचण्डले भनेका छन्, “यो करेक्सन हुनुपर्छ, त्यसको विकल्प छैन ।”
उनले कोशीको विवाद मिलाउन आफूहरूले केन्द्रमा दुई दिनसम्म कसरत गर्न परेको उनले बताए । “कोशीमा दुईवटा गठबन्धन बने, हाम्रो एउटा, एमाले र असन्तुष्ट कांग्रेसको अर्को। लाजैमर्दो। यसलाई कसरी हल गर्ने भनेर दुई दिनसम्म बडो मिहेनत गर्यौं”, प्रचण्डले भनेका छन् ।
गठबन्धनलाई भत्काउन पटक–पटक चलखेल भए पनि परास्त हुने प्रचण्डको भनाई छ । “पाँच वर्ष यही गठबन्धन जान्छ, कसैले हेलाउन सक्दैन, चलखेल गर्नेहरू सफल हुँदैनन्”, प्रचण्डले भनेका छन् ।