काठमाडौं । नेपाली राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछाने निकै प्रश्नले घेरिने नेता हुन् । दुवैका अभिव्यक्ति र कदमहरु बेला–बेला निकै आलोचित पनि भइरहेका हुन्छन् ।
पछिल्लो समय ओली र लामिछानेले मतदातालाई लक्षित गरी दिएको अभिव्यक्ति विवादमा छ । दुवै नेताले आफ्नो पक्षमा मत नदिने मतदाताको ‘चेतना स्तर’ नभएको भन्दै होच्याएका छन् । ओली र लामिछानेले मतदातालाई अपमानितसमेत गरेका छन् ।
सोमबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा एमाले अध्यक्ष ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका मात्रै भनेनन् उनीहरुलाई भोट दिने जनता पनि कस्ता ? भनी प्रश्न गरे । उनले जनतालाई ‘विचरा’को संज्ञा पनि दिएका छन् ।
“गिर्खे कुरा गरेर जनता अल्मल्याउनेहरु छन्, विचराहरूलाई के थाहा, नीति, विचार र सिद्धान्त ! त्यस्तालाई भोट दिने जनता पनि कस्ता ?”, ओलीले प्रश्न गरेका छन् ।
ओलीको अभिव्यक्ति नयाँ दलप्रति लक्षित थियो । जसको जवाफ रास्वपा सभापतिले पनि सोही शैलीमा फर्काएका छन् । उनले ‘भ्रष्ट नेतृत्वलाई भोट दिइरहने भोटर कस्ता ?’ भन्दै प्रश्न उठाएका छन् ।
मंगलबार रास्वपाको नीति मन्थन कार्यक्रमलाई सम्बोधनका क्रममा उनले भने, “आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरूलाई रेडमा पुर्याउँदा अझै पनि भोट हालिरहने ? ती भोटरचाहिं कस्ता ?”
सभापति लामिछानले पुराना दल सुध्रिने अवस्थामा नरहेको तर, भोटर अझै पनि उनकै पक्षमा रहेको भन्दै आलोचना गरेका थिए । उनले मतदाताको चेतनामाथि प्रश्न उठाएका थिए ।
राजनीतिक विश्लेषक नेताहरुले आम मतदातालाई होच्याउने गरी अभिव्यक्ति दिनु लोकतान्त्रिक मूल्य मान्यताविपरित रहेको बताउँछन् । यस्तो शैलीले राजनीतिक नेतृत्वप्रति जनतामा विश्वास गुम्ने उनीहरुको विश्लेषण छ ।