कांग्रेस विद्रोहको प्रभाव : माओवादीभित्र उठ्यो सहमतीय सरकारको एजेण्डा-Sutra News

कांग्रेस विद्रोहको प्रभाव : माओवादीभित्र उठ्यो सहमतीय सरकारको एजेण्डा

बुधबार, १ कार्तिक २०८०

बुधबार, १ कार्तिक २०८०

काठमाडौं । कोशीमा भएको कांग्रेसको विद्रोहले कांग्रेसमात्रै नभई सत्ता गठबन्धनभित्र पनि भूँइचालो ल्याएको छ । कोशी घटनाको प्रभाव अन्य प्रदेश र संघमा पनि पर्न सक्ने सम्भावना देखिएको छ ।



शेखर कोइराला पक्षका कतिपय नेताहरुले खुलारुपमै पनि अब गठबन्धन सरकार ढालिने बताउन थालेका छन् । नेताहरुले कोशीबाट सरकार परिवर्तनको सुरु खेल भएको बताउन थालेका छन् ।

सुत्र न्यूजसँगको कुराकानीमा कोइरालानिकट संघीय सांसद डा. सुनिल शर्माले दसैँ लगत्तै सत्ता परिवर्तनको खुला खेल सुरु हुने बताएका छन् । “अहिलेको सरकार यही शैलीले जाने हो भने गठबन्धनभित्र हामी यसरी नै पेलानमा पर्ने हो भने माओवादीका सबै सरकारलाई भत्काइदिन्छौं”, शर्माले भनेका छन्, “दसैँलगत्तै हामीले त्यो एक्सरसाइज गर्छौं । यही ढंगले यो सरकार जानेवाला छैन ।”

शर्मा मात्रै होइन, कोइराला पक्षीय अन्य सांसदले पनि खुलारुपमै यस्तो बताउन थालेका छन् । नेताहरुले कांग्रेस र एमालेबीच एलाइन्स बनाएर सरकार चलाउनुपर्ने बताउन पर्ने बताउन थालेका छन् ।

कांग्रेसभित्र देखिएको विद्रोहले विशेषगरी माओवादी केन्द्रभित्र ठूलो त्रास देखिएको छ । माओवादी केन्द्रका नेताहरुले कांग्रेस विद्रोहलाई पाखा पन्छाउने गरी सबैतिर सहमतिको सरकार बनाउन पर्ने बताउन थालेका छन् ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउने गरी अब तुरुन्तै प्रत्यन्त गर्नुपर्ने बताएका छन् । सरकारबारे देखिएको किचलो अन्त्य गर्न र जनतालाई स्थिरताको सन्देश दिन पनि सहमतिको सरकार बनाउनुपर्ने उनको भनाई छ ।

बुधबार काठमाडौँ महानगर कमिटी वडा नं. १६ ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अहिलेको अंकगणित पनि सहमतिको सरकार बनाउने कोणबाट भएको बताए । “आज देशलाई राष्ट्रिय सहमतिको खाँचो छ, यदि राष्ट्रिय सहमति नगर्ने हो भने सरकार पनि कतिदिन भन्ने प्रश्न उठ्यो”, उनले भनेका छन्, “भागवण्डाले गति आउने देखिएन, एकले अर्कोलाई सत्तोसराप गरेर चल्ने अवस्था देखिएन, राष्ट्रिय सहमतिको सरकार नबनाई मुलुकले निकास पाउन सक्दैन ।”

उनले सबै दल मिलेको सरकार बनाउनुपर्ने बताएका छन् । दलहरुबीच सहमति गरेर सरकारको नेतृत्व चयन हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट