काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँको अभिव्यक्तिपछि पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली प्रश्नको घेरामा तानिएका छन् । प्रसाइँको अभिव्यक्तिपछि मिडियादेखि राजनीतिक क्षेत्रसम्म ओलीबारे चर्चा सुरु भएको छ ।
मेडिकल व्यवसायी प्रसाइँले सार्वजनिकरुपमा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा अर्बौं रुपैयाँ लगानी गरेको कुरा बताएका छन् । उनका अनुसार उक्त कम्पनीमा ओलीले तीन हजार करोड रुपैयाँ लगानी गरेका छन् ।
“कम्बोडियाको टेलिकममा ओलीको तीन हजार करोडसम्मको लगानी छ । यी विषय बाहिर ल्याउँछ भनेर मलाई निशाना बनाइरहेका छन्”, प्रसाइँले सार्वजनिकरुपमा भनेका छन् ।
पछिल्लो समय धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध अभियान चलाइरहेका प्रसाइँ विगतमा ओलीका अति विश्वास पात्रका रुपमा चिनिन्थे । तत्कालिन समय ओली र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता गराउने सन्दर्भमा पनि प्रसाइँले महत्वपूर्ण भूमिका खेलेका थिए । लामो समय ओली निकट रहेका प्रसाइँको अभिव्यक्तिलाई सामान्यरुपमा लिन नमिल्ने तर्कहरु भइरहेका छन् ।
यसअघि पनि ओलीमाथि यस्ता प्रश्नहरु पटक–पटक उठेका थिए । चर्चित अंग्रेजी भाषाको टेलिभिजन च्यानल डब्लुआइओनले तीन वर्षअघि नै ओलीले भ्रष्टाचार गरेको बेहिसाब रकम विदेशका विभिन्न कम्पनी र बैंकमा लगानी गरेको भन्दै रिपोर्ट सार्वजनिक गरेको थियो । जसमा कम्बोडियाको टेलिकम कम्पनीबारे पनि चर्चा गरिएको छ ।
कम्बोडियाको तानाशाही शासक हुन सेनसँग ओलीको सम्बन्ध
अनौठो विषय, ओली सरकारको नेतृत्वमा हुँदा र नहुँदा पनि कम्बोडिया गइरहन्छन् । कम्बोडियाका तानाशाही शासक हुन सेनसँग ओलीको निकै राम्रो सम्बन्ध छ ।
आफू प्रधानमन्त्रीमा रहँदा हुन सेनलाई नेपाल ल्याउने र हुन सेनको निमन्त्रणमा आफू कम्बोडिया जाने काम ओलीले गरेका थिए ।
हुन सेनसँगको ओलीको सम्बन्धबारे विगतदेखि नै प्रश्नहरु उठ्ने गरेका छन् ।
ओली प्रधानमन्त्रीको हैसियतमा २०७६ वैशाख ३० मा कम्बोडिया पुगेका थिए भने निर्वाचन पर्यवेक्षणको लागि भन्दै गत साउन ३ मा पनि आफ्ना निकटसहित कम्बोडिया पुगेका थिए । पछिल्लो भ्रमणका बेलादेखि नै ओलीबारे टिप्पणीहरु सुरु भएका थिए ।
ओलीबारे चर्चापछि एमाले महासचिवको प्रतिक्रिया : षडयन्त्रमूलक प्रचार
पार्टी अध्यक्ष ओलीमाथि गम्भीर खालका आरोपहरु लगाइएपछि एमाले महासचिव शंकर पोखरेलले प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले ओलीमाथि षडयन्त्रमूलक ढंगले राजावादीहरुले प्रचार गरिरहेको आरोप लगाएका छन् ।
“पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतालाई भ्रम छर्ने गर्दथे, अहिले राजावादीहरु कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेका छन्”, पोखरेलले भनेका छन्, “वैचारिक र राजनीतिकरुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो, नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्तिको प्रहार राष्ट्र र जनताको भविष्यमाथिको प्रहार हो ।”