रुकुम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने बताएका छन् । रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६ मग्मामा सहिद स्मृति खेलकुद तथा सांस्कृतिक मेलामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार बनेदेखि नै ढाल्ने चलखेल सुरु भए पनि कसैले हल्लाउन नसक्ने बताए ।
“गठबन्धन सरकार कमजोर भए अराजकतावादी, विचारविहीनहरु बढ्दै जान्छन्, सामन्ती र निरंकुशतावादीले टाउको उठाउने खतरा बढ्छ”, प्रधानमन्त्री प्रचण्डले भने । उनले मुलुकका विभिन्न भागमा धार्मिक र जातीय सद्भाव बिगार्ने खेल भइरहेको भन्दै त्यसलाई रोक्न पनि सरकार आवश्यक भएको तर्क गरे ।
प्रधानमन्त्री प्रचण्डले रुकुम पश्चिमको समग्र विकासबारे आफू जानकार रहेको बताउँदै काठमाडौं पुगेपछि मन्त्रिपरिषद्को बैठकले यसबारे महत्वपूर्ण निर्णय गर्ने जानकारी दिए ।
माओवादी घटकका दलबीच एकता हुन्छ
प्रधानमन्त्री प्रचण्डले माओवादी घटकका दलहरुबीचको छिट्टै एकता हुने बताएका छन् । परिवर्तनलाई जोगाउनका निम्ति पनि माओवादी घटकबीच एकता आवश्यक भएको उनको भनाई छ ।
“हामी ठूलो पार्टीको रुपमा उदाएका थियौँ । विडम्बना हामी सबै फरक–फरक बाटोतिर लाग्यौँ । हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिवद्धता जनता सामु गरेका थियौं, त्यो प्रतिवद्धता भुल्दै साथीहरु फरक बाटोतिर लाग्नुभयो । शान्ति प्रक्रियापछि उहाँहरुलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो”, उनले भनेका छन् ।
उनले समाजवादी मोर्चा पनि माओवादी घटकहरुलाई एक ठाउँमा ल्याउन बनाएको उनको भनाई छ । “हामी माओवादी शक्तिहरु पुनः एक हुनुपर्ने बेला आएको छ । हामीले समाजवादी मोर्चा नै बनाएका छौँ । त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ । समाजवादी मोर्चाको एउटा अभियान छ । हाम्रो पार्टीको एउटा अभियान छ । यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरुको एकता हो”, उनले भने ।