कांग्रेसको चियापान आज, दलका नेतादेखि राजदूतसम्मलाई निम्तो-Sutra News

कांग्रेसको चियापान आज, दलका नेतादेखि राजदूतसम्मलाई निम्तो

शनिबार, ११ कार्तिक २०८०

शनिबार, ११ कार्तिक २०८०

काठमाडाैं । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले आज दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेकाे छ । बडादशैं, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए ।



प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले भने,‘बीपीले तत्कालीन अवस्थामा राजनीतिक सम्वाद र भेटघाटको आवश्यकता महसुस गरी थालनी गर्नुभएको चियापान कार्यक्रमले अहिले पनि मुलुकमा राजनीतिक सौहार्दता र एकता कायम गर्न योगदान पुर्‍याउनेछ ।’

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने छ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने छन् ।

पार्टी नेता अर्जुननरसिंह केसीले बीपी कोइराला स्वदेश फर्केपछि जटिल बनिरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा बडादशैंलगायत पर्वको उपलक्ष्यमा सबै पक्षलाई समेटेर सद्भाव कायम गर्न शुरू गरिएको शुभकामना आदानप्रदान अहिले पनि त्यतिकै सान्दर्भिक रहेको बताए ।

उनले भने, ‘यसको मूल कारण सद्भावना, शुभकामना, सबै पक्षकाबीचमा मेलमिलाप गर्ने मनोवैज्ञानिक वातावरण बनाउन सकियोस्, हामीभित्र भएका तिक्तता, वादविवादलाई पर राखेर सम्बन्धलाई सहजरूपबाट सहमति निर्माण गर्न सजिलो होस् भन्ने हो ।’

अहिले पनि त्यत्तिकै मेलमिलापको आवश्यकता रहेको बताउँदै उनले गौरवकारूपमा रहेको विविधताबीचको धार्मिक, सामाजिक र सांस्कृतिक एकताको सन्देश छर्न सकोस् भन्ने उद्देश्य बोकेको चियापन मेलमिलापको कार्यक्रम भएको विचार प्रकट गरे ।

कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ ।

बीपी वि.सं. २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले वि.सं. २०३४ देखि चियापान शुरू गरेको हो । वि.सं. २०३८ सम्म बीपीले यसलाई निरन्तरता दिएका थिए ।

त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन् । कांग्रेसले बडादशैंको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट