

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमणमा अवाञ्छित गतिविधि गर्न सक्ने भन्दै पूर्वबाल लडाकु समूहका अध्यक्ष लेनिन विष्टसहित द्वन्द्व पीडित भोजराज तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महासचिव गुटेरसको संघीय संसदमा सम्बोधन सुरु हुनु केही अगाडि मात्रै तत्कालीन माओवादीले हत्या गरेका छोरा कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्नलाई कानुनी कारबाही गर्नुपर्ने माग राख्दै सत्याग्रहमा रहेकी गंगामाया अधिकारीलाई भेट्न वीर अस्पताल पुगेका पूर्वबाल लडाकु अध्यक्ष विष्ट र द्वन्द्व पीडित तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विगत १० वर्षभन्दा लामो समयदेखि छोराको हत्यारालाई कानुनी कारबाहीको माग गर्दै सत्याग्रहमा रहेकी अधिकारीलाई संयुक्त राष्ट्रसंघका महासचिवसँग भेट गराउने योजनाकासाथ वीर अस्पताल पुगेका विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै ठाडो निर्देशनमा आफूलाई नियन्त्रणमा लिइएको पूर्व बाल लडाकु अध्यक्ष विष्टको दाबी छ ।
विष्टलाई नियन्त्रणमा लिएको बारे प्रहरीले अहिलेसम्म केही प्रतिक्रिया भने दिएको छैन् । संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस भने यतिबेला संघीय संसदलाई सम्बोधन गरिरहेका छन् । गुटरेसको नेपाल भ्रमणले नेपालको संक्रमणकालीन न्यायको मुद्दाले एकपटक पुनः चर्चा पाएको छ ।