नेपालको संसदमा महासचिव गुटेरेसले उठाएका चार एजेण्डा (पूर्णपाठसहित)-Sutra News

नेपालको संसदमा महासचिव गुटेरेसले उठाएका चार एजेण्डा (पूर्णपाठसहित)

मंगलबार, १४ कार्तिक २०८०

मंगलबार, १४ कार्तिक २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । मंगलबार संघीय संसदलाई सम्बोधनका क्रममा महासचिव गुटेरेसले विशेषतः चार वटा एजेण्डामा आफ्नो भनाई राखे ।



नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, विकासोन्मुख देशले पाउनुपर्ने सहयोग र समान विकासको विषयमा उनले आफ्ना भनाईहरु राखे ।
उनले नेपालको शान्ति प्रक्रिया विश्वका निम्ति सिक्न योग्य पाठ भएको पनि बताएका छन् । नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न राष्ट्रसंघ इच्छुक रहेको पनि उनको भनाई छ ।

“तपाईँहरू आफ्ना शान्ति प्रक्रियाका अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ, यो प्रक्रियामा तपाईँहरू एक्लो हुनुहुन्न”, उनले भनेका छन्, “अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने, तपाईँको सर्वोच्च अदालतका निर्णय र पीडितहरूका आवश्यकता पूरा गर्ने प्रक्रियाको विकास गर्न र यसलाई व्यवहारमा ल्याउन संयुक्त राष्ट्रसंघ तपाईँहरूलाई सहयोग गर्न तयार छ ।”

सानो मुलुकको रुपमा रहेको नेपालले विश्वमै शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै उनले नेपालको प्रशंशा गरेका छन् । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सेना पठाउनेमा नेपाल दोस्रो ठूलो राष्ट्र रहेको उनले बताए ।

आफ्नो सम्बोधनका क्रममा गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी विषयलाई जोडपूर्वक उठाएका छन् । पर्यावरणलाई जोगाइराख्न महत्वपूर्ण योगदान गरेको भन्दै उनले नेपालको प्रशंशा गरे ।

तथापी, जलवायु परिवर्तनबाट नेपाल नराम्रोसँग प्रभावित भएको पनि उनले बताए । बाढी, पहिरोजस्ता प्राकृकित प्रकोपबाट नेपाल समस्यामा परेको सम्बोधनका क्रममा उनले उल्लेख गरे ।

हिमनदीहरु असामान्य गतिमा पग्लिरहेको, पछिल्लो तीन वर्षको अवधिमा नेपालले झण्डै एक तिहाइ हिमनदी गुमाएको समेत उनले बताए । “हिमनदीहरू असामान्य गतिमा पग्लिरहेका छन्, नेपालले तीस वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एक तिहाइ गुमाएको छ, प्रभाव विनाशकारी छ, पानीले भरिएका ताल फुट्दैछन्, नदी र समुद्रको पानी बढ्दै छ, पहाडहरू जोखिममा छन् र चट्टान, पहिरो तथा हिमपहिरोको जोखिम बढ्दो छ”, संघीय संसदमा उनले भनेका छन् ।

जलवायु परिवर्तन गराउने सन्दर्भमा ठूला तथा विकसित देशहरुको भूमिका हुने तर, नेपालजस्ता देशहरु बढी पीडित हुने अवस्था रहेको उनले बताए । पीडित बनेका देशहरुलाई विकसित देशहरुले क्षतिपूर्ति स्वरुप सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

“नेपाल र अन्य विकासोन्मुख देशहरूको विकासमा सहयोग गर्न, जलवायुसम्बन्धी कार्यलाई तीव्रता दिन र हालको वैश्विक संकटको सामना गर्न धेरै ठूलो अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ”, उनले भनेका छन्, “ मैले दिगो विकास लक्ष्य स्टिमुलस र जलवायु कार्यको लागि किफायती दीर्घकालीन वित्तपोषणमा कम्तीमा ५ खर्ब प्रतिवर्ष वितरण गर्ने प्रस्ताव गरेको छु, सदस्य राष्ट्रहरूले गत महिनाको महासभामा प्रस्तावलाई स्वागत गरे र यसलाई अगाडि बढाउन प्रतिबद्ध भए, म उनीहरूलाई यी प्रतिबद्धताहरूलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि अब कार्य गर्न आह्वान गर्दछु, र म नेताहरूलाई ढिलाइ नगरी जलवायुमा काम गर्न आग्रह गर्दछु — सबैभन्दा ठूला उत्सर्जनकर्ताहरूले नेतृत्व लिनुपर्दछ ।”

सम्बोधन क्रममा महासचिव गुटेरेसले पछिल्लो सूचना तथा प्रविधिको विकास सबैको पहुँचमा पुग्नुपर्नेमा जोड दिए । उनले पछिल्लो विकासले विश्वमा विभाजन र असमानता निम्त्याउन सक्छ भन्दै विश्वलाई सचेत रहन पनि आग्रह गरे ।

सूचना तथा प्रविधिमा समान पहुँच पुर्‍याउन संयुक्त राष्ट्र संघले भूमिका खल्ने उनले बताएका छन् । सम्बोधनका क्रममा उनले भनेका छन्, “विश्वलाई आश्चर्यजनक गतिमा परिवर्तन गर्ने प्रविधिहरूका लागि हामीलाई वैश्विक प्रतिकार्य चाहिन्छ, मानवताको भलाइको लागि तिनीहरूलाई प्रयोग गर्न । र सबै देशहरूले आफ्नो भनाइ राख्न पाउनुपर्छ । मेरो उच्च स्तरीय आर्टिफिसियल इन्टेलिजेन्स निकायमा जी७७ देशका विज्ञहरू समावेश छन् । यसले यस वर्षको रिपोर्ट गर्नेछ । तसर्थ, सदस्य राष्ट्रहरूले आर्टिफिसियल इन्टेलिजेन्सका लागि वैश्विक शासन विकल्पहरू विचार गर्न सक्छन् । हामीले टेक्नोलोजीका फाइदा पनि सबैमा र्पुयाउनुपर्दछ र नयाँ प्राविधिक युगमा कसैलाई पनि पछाडि नछोड्ने कुरा सुनिश्चित गर्नुपर्दछ । संयुक्त राष्ट्र संघले प्रस्ताव गरेको ग्लोबल डिजिटल कम्प्याक्टको उद्देश्य यही हो ।”

यस्ताे छ उनकाे सम्बाेधनकाे पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट