काठमाडौं । नेकपा एमालेले आज (बुधबार) चियापान कार्यक्रम गर्दैछ। दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा एमालेले आज चियापान आयोजना गर्न लागेको हो।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरू हुने एमाले नेता विष्णु रिजालले जानकारी दिए। यसअघि एमालेले मंगलबार (कात्तिक १४ गते) गते चियापान गर्ने भनेकामा सो दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकाले चियापान एक दिन सारिएको हो।
चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरू लगायतलाई आमन्त्रण गरिएको नेता रिजालले जानकारी दिए।
राजनीतिक दलहरूले दसैं, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार आदि पर्वका अवसरमा बर्सेनि चियापान आयोजना गरेर शुभकामना साटासाट गर्ने गर्छन्। यसअघि कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापनको आयोजना गरेको थियो।