

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तारा एयरका दुई पाइलटको लाइसेन्स निलम्बन गरेको छ । शुक्रबार बिहान रामेछापको मन्थली विमानस्थल परिसरभित्रै कुटाकुटमा उत्रिएका उनीहरुको लाइसेन्स निलम्बन गरेको हो ।
क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिएअनुसार मन्थली विमानस्थल परिसरमा कुटाकुटमा उत्रिने तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठलाई निलम्बन गरिएको हो । क्यानले लाइसेन्स खारेज वा अन्य कारबाही अनुसन्धान पछि हुने जनाएको छ ।
“राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरिएको छ । विस्तृत अनुसन्धानपछि लाइसेन्स खारेज वा नियमबमोजिम अन्य दण्डात्मक कारबाही हुन सक्छ”, उनले भनेका छन् ।
शुक्रबार बिहान ८ बजे विमानस्थल परिसरमा शाह र श्रेष्ठबीच हानाहान भएको थियो । हानाहानमा क्याप्टेन शाहको हातमा चोट लागेको थियो ।
एउटै कम्पनीका दुई पाइलटबीच के कति कारणले कुटाकुट भएको त्यो भने खुल्न नसकेको क्यानले जनाएको छ ।