काठमाडौं । सरकार गठनदेखि नै कोशीमा कांग्रेस र एमालेबीच मात्रै सहकार्य गर्नुपर्ने अडानमा एमाले थियो । एमालेले अन्य दललाई सरकारमा सहभागि गराउन नसकिने बताइरहेको थियो ।
तर, एमालेको इच्छा विपरित शुक्रबार मुख्यमन्त्री केदार कार्कीले आफू नेतृत्वको सरकारमा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट एक÷एक जना मन्त्री थपेका छन् । जुन कदमलाई उनले सहमतीय सरकारको प्रारम्भ भनेका छन् ।
तर, मुख्यमन्त्री कार्कीको यो कदमसँगै एमाले भने निकै असन्तुष्ट बनेको छ । एमालेको मुख्यमन्त्रीबाट धोका भएको बताएको छ ।
एमालेका प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी कार्कीबाट सहमति उल्लंघन भएको बताउँछन् । “कोशीमा समाप्त भएको कोर्स पुनः ब्युँत्याउन खोजियो, मुख्यमन्त्रीज्युले हामीले राखेको अडान विपरित निर्णय गर्नुभएको छ, अब के गर्ने बैठक बसेर निर्णय लिन्छौं”, उनले भनेका छन् ।
एमालेले कार्कीको कदमलाई ‘प्रचण्ड कदम’सँग तुलना गरेको छ । एमालेको सहयोगमा संघमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि कांग्रेससँग सहकार्यको बाटो रोजेका थिए ।
कार्की पनि असोज २७ एमालेका ३९ र कांग्रेसको ८ सांसदको समर्थनमा मुख्यमन्त्री भएका थिए। शपथ लिएलगत्तै उनले एमालेका राम मगर र कांग्रेसबाट शमसेर राईलाई मन्त्री नियुक्त गरेका थिए।
तत्कालिन समय एमालेलाई मात्रै समेटेर सरकार बनाउँदा गठबन्धन तोडिएको देखिएको थियो । तर, पछिल्लो कदमसँगै कार्की गठबन्धनतर्फै फर्किएको देखिन्छ । तथापी, पछिल्लो कदमले सरकारको भविष्य भने अन्योलमा पुर्याएको छ ।