काठमाडौं । नेपाली नेताहरुको उत्तरी छिमेकी देश भ्रमणमा जाने क्रम निकै बाक्लिएको छ । विशेषतः वामपन्थी धारका नेताहरु एकपछि अर्को गर्दै चीन भ्रमणमा निस्किरहेका छन् ।
यहीबीच नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल साताव्यापी चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणमा अध्यक्ष नेपाल उपाध्यक्ष तथा कृषिमन्त्री डा. बेदुराम भुसालसहित १५ सदस्यीय टोलीको नेतृत्व गर्दै कात्तिक २१ गते मंगलबार चीनको राजधानी बेइजिङतर्फ जान लागेका हुन् ।
अध्यक्ष नेपालको टोलीमा सातै प्रदेशका नेता कार्यकर्ता सहभागी हुने बुझिएको छ ।
यसअघि बिआरआई र चिनियाँ पार्टीसँगको भेटघाटका नाममा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका नेताहरु चीन भ्रमणमा गएका थिए ।