बन्ने भाे धुर्मुस-सुन्तलीले अलपत्र बनाएकाे रंगशाला, प्रदेश सरकार र महानगरले लियाे जिम्मा-Sutra News

बन्ने भाे धुर्मुस-सुन्तलीले अलपत्र बनाएकाे रंगशाला, प्रदेश सरकार र महानगरले लियाे जिम्मा

मंगलबार, २१ कार्तिक २०८०

मंगलबार, २१ कार्तिक २०८०

काठमाडाैं । धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्न नसकेपछि अलपत्र बनेकाे गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे निर्माण अघि बढ्ने भएको छ । मंगलबार हेटौंडामा प्रदेश सरकार र भरतपुर महानगरपालिकाबिच भएको बैठकमा रंगशाला निर्माणका लागि आवश्यक लगानी गर्ने सहमति भएको हो ।



मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित भरतपुर महानगरकी मेयर रेणु दाहालको उपस्थितिमा भएको बैठकले रंगशाला निर्माणका लागि प्रदेशले ७० र महानगरले ३० प्रतिशत लगानी निर्णय गरेकाे छ । बैठकले यसअघि भएका आर्थिक क्रियाकलाप र ऋणसम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने र केही दिनभित्र ठेक्का आव्हान गरी रंगशाला निर्माणको काम अघि बढाउने निर्णय गरेकाे छ ।

महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावअनुसार काम सुरु गरिने छ । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय जनाएको छ ।

रंगशाला निर्माणकाे सुरूवाती गरेकाे धुर्मुस-सुन्तली फाउण्डेशनले रु ५७ करोड ९२ लाख ८५ हजार सात सय ३८ खर्च भएको जनाएको छ। जसमध्ये रु १८ करोड ४३ लाख ऋण छ ।

फाउण्डेशनले निर्माणमा ऋण दायित्व छाडेपछि कसले जिम्मा लिने भन्ने असहजता बनेकाे थियाे । महानगरले लामाे समयदेखि छलफल बढाएपनि निर्णय हुन सकेकाे थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट