काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबारमा बसेकाे सर्वदलीय बैठकप्रति आपत्ति जनाएका छन्। भूकम्पबाट पीडित जनतालाई राहत दिए व्यवस्था आफै जोगिने उनले बताएका छन् ।
उनले यतिबेला भूकम्पबाट पीडित जनालाई पाल र ब्ल्यांकेट चाहिएको, चिसोबाट ज्यान जोगाउनु परिरहेको अवस्थामा उनले सर्वदलीय बैठक बस्ने दललाई जनता जोगाउनतिर लाग्न सुझाव दिएका हुन्।
‘आदरणीय “सर्वदलीय हेड सरहरु यता सुन्नुस् है, आज बैठक गर्ने सबै पार्टी मिलेर भूकम्प पीडितका घरमा पाल र ब्ल्यांकेट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्। व्यवस्था आफैं जोगिन्छ, परिवर्तन आफैं जोगिन्छ’, उनले भनेका छन्,‘सुत्केरीहरुको जिउ सुन्निएको छ, अस्थाइ शौचालय छैन, पुरिएका चौपायाका कारण महामारी फैलने डर छ। जुटाइदिएको पाल, चामल, दाल समयमै बाड्न नसक्ने अनि चिन्ता व्यवस्थाको, परिवर्तन को?’
उनले यदि शीर्ष दलहरुले सक्दैनन् भने रास्वपाले जनताको लागि काम गर्न सक्ने र त्यसका लागि तयार रहेको समेत लामिछानेले बताएका छन्। उनले भनेका छन्, ‘तपाईंहरुले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ त्यो पनि पुनर्निर्माणसम्मको जिम्मा लिन तयार छ। फेरि पनि भन्छु, व्यवस्थामा खतरा छैन, भए पनि जोगाउने जनता छन्। तिनको जीवन रक्षा गरिदिनुस्।’
उनले भूकम्प पीडित जनतालाई यस्तो चिसोमा आकाशमुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले आफ्ना आँखा नराम्ररी बिझाएको बताएका छन्। ‘परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई यो चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले मेरा आँखा नराम्ररी बिझाए।’, उनले भनेका छन् ।