भूकम्प प्रभावित क्षेत्रमा के गर्छन् कांग्रेसका महामन्त्रीद्वयले ?-Sutra News

भूकम्प प्रभावित क्षेत्रमा के गर्छन् कांग्रेसका महामन्त्रीद्वयले ?

बुधबार, २२ कार्तिक २०८०

बुधबार, २२ कार्तिक २०८०
फाइल तस्बिर

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम खटिएका छन् । बुधबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ गएका महामन्त्रीद्वयले प्रभावित क्षेत्रको स्थलगत अवलोकनका साथै प्रभावितकाे व्यवस्थापनमा सहजीकरण गर्ने कांग्रेसले जनाएको छ ।



महामन्त्रीद्वयले त्यहाँ रहेर ‘७ बुँदे कार्य’ मा ध्यान केन्द्रित गर्नेछन् । महामन्त्रीद्वयले तिन तहका सरकार र संघ संस्थाबीच समन्वय नभएको भए पालना गर्न/गराउन थप सुझाव र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ ।

महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउने कांग्रेसले जानकारी गराएको छ ।

शुक्रबार राती गएको जाजरकोट भूकम्पपछिका अवस्थाबारे अनुगमन र सहजीकरण गर्न कांग्रेसले महामन्त्रीद्वय थापा र शर्माको संयोजकत्वमा समितिसमेत गठन गरेको थियो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर महामन्त्रीद्वय विशेष गरी सात कार्यमा केन्द्रित रहने उल्लेख गरेका छन्।

के-के काम गर्छन् महामन्त्रीद्वयले ?

(१) उद्धार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढंगले भए पनि राहत सामग्री अझै पनि कयौँ पीडितमा नपुगेको भनेर सञ्चार माध्यम मार्फत उजागर कमजोरीहरूको वास्तविकता पहिचान गरी अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण ।

(२) संघ, प्रदेश, स्थानीय सरकार, राजनैतिक दलहरू, विभिन्न संघ–संस्था एवं स्वयं सरकारी निकायहरू बीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन । छैन भने एकद्वार पालना गर्न/गराउन थप सुझाव र सहजीकरण ।

(३) उद्धार र राहतमा पुगेका बाह्य संघ–संस्था र व्यक्तिहरूबाट कतै प्रतिकुल असर परेको अवस्था त छैन ? सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न/गराउन सुझाव र सहजीकरण गर्ने/गराउने ।

(४) उद्धार र राहत क्रममा नेपाली कांग्रेस पार्टीको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेको नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारितामा प्रेरित गर्ने तथा दीर्घकालीन रूपमा पुनर्स्थापनामा सम्पादन गर्नुपर्ने विषयहरूको अध्ययन गर्ने ।

(५) घाइतेको उपचारमा ध्यान केन्द्रित गर्ने स्वभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने ।

(६) सुत्केरी, अपांगता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय ।

(७) पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाली कांग्रेसको धारणा प्रधानमन्त्रीलाई लिखित रूपमा बुझाइएको छ । यसको कार्यान्वयनमा के कस्तो समस्याहरू आइपर्न सक्छन्, सरोकारवालाहरूको सुझावहरू के के छन्, आदि विषयमा जरुरी परामर्श र अध्ययन गर्ने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट