काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् पूर्वसांसद रेशम चौधरीलाई कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध परेकाे रिट पेसीमै नराखी स्थगित गरिएको छ। सर्वोच्च अदालत प्रशासनले नियमित दैनिक पेसी सूची प्रकाशित गर्दा चौधरीविरुद्धको रिटको सुनुवाइ स्थगित मुद्दाको सूचीमा राखेको हो।
निवेदन सुनुवाइका लागि विहीबार पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो ।
टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा माफी मिनाहा दिएका थिए ।
क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लंघनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै घटनामा मृत्यु भएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।
बिहीबार उक्त रिटमा अन्तिम सुनुवाइ गर्ने तयारी थियाे ।