काठमाडाैं । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई यथावतरूपमा कामकारबाही गर्न दिन आदेश दिएको छ। शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मेयर साहलाई कामकाज गर्न दिन आदेश दिएको हो ।
नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले मेयर रिनाकुमारी साहको पद यसअघि निलम्बन गरेको थियो । तर, शाहले एमालेको सदस्यबाट राजीनामा नदिएको, अर्को दलको सदस्यता लिएको आधिकारिक प्रमाण पनि पेश नभएको, उनी संलग्न भई अर्को दल गठन गरेको भन्ने वैधानिक आधार-प्रमाणको अभाव रहेको भन्दै सर्वोच्चले उनलाई पुनर्बहाली गर्न आदेश गरेकाे हाे ।
‘मौलापुर नगरपालिकाको निवेदीका निर्वाचित भएको नगर प्रमुख पद रिक्त भएको भनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट भएको निर्णय तथा सो सम्बन्धमा निर्वाचन आयोगलाई गरेको पत्राचार, निवेदिकाको नगर प्रमुख पद स्वतः रिक्त भएको भनी निर्वाचन आयोगबाट मिति असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सूचनासमेत हाललाई कार्यान्वयन नगर्नू, नगराउनू’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘र निज निवेदिकालाई पूर्ववत रौतहट जिल्ला, मौलापुर नगरपालिकाको प्रमुख पदमा रही यथावत काम कारवाही गर्न दिनू भनी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ।’
साथै, सर्वोच्चले यस सम्बन्धमा १५ दिनभित्र निर्वाचन आयोगलाई लिखित जवाफ पेस गर्न भनेको छ । रिटको टुंगो नलागेसम्म उनलाई काम गर्न दिनुपर्ने इजलासको आदेशमा उल्लेख छ।
एमाले छाडेर पति प्रभु साहको आम जनता पार्टी प्रवेश गरेको भन्दै एमालेले दल त्यागको जानकारी निर्वाचन आयोगलाई गराएको थियो । एमालेले जानकारी दिएपछि आयोगले पद नगर प्रमुख पद स्वतः रिक्त भएको सूचना जारी गरेकाे थियाे ।