काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थवाङ क्रान्ति, शान्ति, निर्माण र पुनःनिर्माणको प्रतीक भएको बताएका छन् । उनले थवाङबाट आफूलाई जहिले पनि उर्जा मिल्ने बताए ।
‘थवाङले विचार दियो, गुणात्मक परिवर्तन दियो, एउटा ऐतिहासिक क्रान्तिकाे नेतृत्व गरेको छ’, उनले भनेका छन्, ‘यहाँ आएर फर्किँदा म जहिलेपनि उर्जा लिएर फर्किन्छु।’
उनले आफूहरु अब नयाँ चरणको क्रान्तिको तयारीमा रहेको पनि बताएका छन् । ‘जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो, अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं, संंविधानमा नै समाजवादको संकल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ’, उनले भनेका छन् ।
उनले शान्तिप्रक्रियापछि माओवादीहरु विभाजित बनेको भन्दै अब एकताबद्ध हुने प्रतिबद्धता पनि व्यक्त गरे । ‘हामी माओवादीहरू विभाजित भयौं। अहिले क्रमशः एकताको आधार तयार हुँदैछ। विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ। हामी छिट्टै एकतावद्ध हुन्छौं’, उनले भनेका छन्, ‘समाजवादको आधार तयार पार्ने उद्धेश्यले नै केही नयाँ काम सुरू गरेका छौं। सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको छ।’