रास्वपा सांसद हरि ढकाललाई प्रश्न– नयाँ सांसदहरूकाे भूमिका किन प्रभावकारी देखिएन ?-Sutra News

रास्वपा सांसद हरि ढकाललाई प्रश्न– नयाँ सांसदहरूकाे भूमिका किन प्रभावकारी देखिएन ?

आइतबार, २६ कार्तिक २०८०

आइतबार, २६ कार्तिक २०८०

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् हरि ढकालले आफूहरूको उत्साहका बाबजुद सफल संसदीय अभ्यास हुन नसकेको गुनासो गरेका छन् । सत्ता पुरानै सोच र ढर्रा भएका राजनीतिक दलको हातमा भएकाले समग्र सदन प्रभावित भएको उनले बताए । ‘हामी संसदीय अभ्यासमा नयाँ र उत्साहित भएका थियौँ । तर यो सत्ता पुरानै सोच र ढर्रा भएका राजनीतिक दलको हातमा भएकाले समग्र सदन प्रभावित भयो । जति कानुन बन्नु पर्दथ्यो जति विधेयक पास हुनुपर्दथ्यो, त्यो भएन,’ उनले भने ।



दोस्रो अधिवेशनमा रास्वपाले सदनमा दर्ता गराएको दुई सार्वजनिक महत्व र पाँच सङ्कल्प प्रस्ताव सदनमा प्रस्तुतसमेत भएन । उनले सदनमा प्रतिपक्ष हुनेबित्तिकै विरोध र सत्तापक्ष हुनेबित्तिकै बचाउ गर्ने संस्कारप्रति टिप्पणी गरे।

संसद्मा पुरातनशैलीको यथास्थितिमा रमाउन खोज्ने दलहरूको हालीमुहाली भएको उनको आरोप छ । ‘सदनमा सत्तापक्षका सरकारको सङ्ख्याका आधारमा नै हामीले गरेका संशोधनहरू ‘फेल’ भए’, उनले भने, ‘तर हामीले हालेका संशोधन फेल गराइरहँदा, सदन सकिएपछि सत्तापक्षकै सांसदहरूले ‘कस्तो राम्रो संशोधन हाल्नुभएको पास हुन सकेन हाम्रो त यस्तै छ, यसरी नै चलिरहेको छ भन्ने प्रतिक्रिया दिनुहुन्छ ।’

सरकार र सदन दुवैले कानुन निर्माणमा ध्यान केन्द्रित गर्न नसकेको उनको भनाइ छ । ‘सरकार सञ्चालकहरू यो सङ्ख्याले सरकार कति मजबुत छ भनेर सङ्ख्या गन्न मात्र लागिपरेको छ । सरकार बनिसकेपछि सदनले सत्ताको जोडघटाउमा होइन कानुन बनाउनमा केन्द्रित हुनुपर्ने हो,’ उनले भने ।

विधायिकको भूमिकामाथि प्रश्न

वडाध्यक्ष, नगर प्रमुख र सांसदलाई आउने जनगुनासोको प्रकृति उस्तै छन् । विधायिकाको भूमिकाबारे आमजनता स्पष्ट छैनन् । जनप्रतिनिधिले नै आमजनतालाई विधायिकाको भूमिकाबारे बुझाउन चाहेनन् । विकास निर्माणको जिम्मा पनि सांसदले लिएर हिँडने पुरानो संस्कारका कारण स्थानीय तहको भूमिका र सांसदको भूमिकाबीच जनतामा स्पष्टता नभएको सांसद ढकालको भनाइ छ ।

‘जनतामा समेत सरकारले होइन, फलानो सांसद र नेताले हालेको बजेट भन्ने छ । मेरो निर्वाचन क्षेत्रमा पूर्वसांसदहरूले बाटाको नामसमेत आफ्नो नाममा राख्नुभएको छ,’ उनले भने, ‘सांसदले आफ्नो मुख्य काम कानुन निर्माण हो है भन्ने बुझाउनुपर्ने ठाउँमा उहाँहरू सडक, पुल, कलर्भट र धारा बनाउन लागिपर्नुभएको छ ।’

चितवन–१ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य ढकालले विधायिकाहरू बजेट अधिवेशनका समयमा पनि सैद्धान्तिक छलफलमा भन्दा बढी आफ्नो क्षेत्रमा बजेट पार्न व्यस्त हुने गरेको बताए ।

सरकारले नसुन्ने शून्य समय

‘मैले बर्खे अधिवेशनमा शून्य समयसहित २७ पटक सदनमा बोलेको छु । मेरो अनुभूतिले के भन्छ भने यो सरकारले सुन्दैन,’ उनले भने ।

सरकारले प्रतिनिधिसभाको शून्य समयमा उठाएको विषय आवश्यकतानुसार तत्काल सम्बोधन गर्न सक्नुपर्ने उनको भनाइ छ । तर सरकारबाट चासो व्यक्त नहुने उनको अनुभव छ । ‘उठाएको मुद्दाको निरन्तर अद्यावधिक गर्दा पनि सरकारले सुन्दैन त्यसैले दोस्रो अविधेशनको एक बैठकमा शून्य समयमा मौन धारणा गरेर विरोध जनाएँ,’ उनले भने । राससबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट