काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने सरकारको निर्णय गलत भएको भन्दै विरोध जनाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेलगतै सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले विरोध जनाएका हुन् ।
उनले टिकटक बन्द गर्ने निर्णयलाई उल्टो बाटोको संज्ञा दिएका छन् ।
“टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ”, थापाले भनेका छन्, “सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरूत्साहित गर्न नियमन आवश्यक छ, तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने÷नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो ।”
सरकारको निर्णयले अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रतामाथि धावा बोलेको उनको भनाई छ । उनले यो कदमलाई सच्याउनुको विकल्प नभएको पनि बताएका छन् ।
“यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो, सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन”, उनले भनेका छन् ।