काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँ नेतृत्वको नागरिक बचाउ महाअभियानले आफ्नो जनप्रदर्शनमा दमन हुनसक्ने भन्दै अन्तराष्ट्रिय जगतलाई गुहारेको छ । आइतबार एक अपिल पत्र सार्वजनिक गर्दै अभियानले प्रदर्शनलाई अनुगमन गरिदिन राष्ट्रिय मानवअधिकार आयोग र अन्तराष्ट्रिय आयोग तथा नियोगहरुलाई आग्रह गरेको हो ।
“आम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, राष्ट्रिय मानव अधिकार आयोग, अन्तर्राष्ट्रिय मानवअधिकार आयोग तथा नेपालस्थित पर्यवेक्षकहरु, नेपालस्थित वैदेशिक कुटनीतिक नियोगहरु नागरिक समाजहरुलाई उक्त आन्दोलनका क्रममा हुन सक्ने मानव अधिकार उल्लङ्घनका गतिविधिहरुलाई प्रत्यक्ष निगरानी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सत्यतथ्य जानकारी गराई दिनुहुन हार्दिक अपिलसहित अनुरोध गर्दछौं”, प्रसाइँ नेतृत्वको महाअभियानले जारी गरेको अपिल पत्रमा भनिएको छ ।
अभियानले यही मंसिर ७ गते संघीय राजधानी काठमाडौंमा प्रदर्शनको तयारी गरेको छ । व्यवस्था नै बदल्ने संकल्पसहित महाअभियानले गर्न लागेको प्रदर्शनमा मुठभेठ हुने त होइन भन्ने आशंका पनि जन्मेको देखिन्छ । किनकी सोही दिन नेकपा (एमाले)निकटको युवा संघले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्दैछ ।
दोहोरो प्रदर्शनका बीच आफ्नो पक्षमाथि सरकारले दमन गर्न सक्ने भन्दै प्रसाइँ नेतृत्वको महाअभियानले अपिल सार्वजनिक गरेको हो ।