काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीचको पार्टी एकता प्रक्रिया औपचारिकरुपमै अघि बढेको छ । आइतबार बसेको दुई पार्टीको वार्ता समितिको बैठकले एकताका बाँकी कामलाई तत्कालै टुंग्याउने सहमति गरेको हो ।
वार्ता समिति बैठकले पार्टी एकताका लागि एकता संयोजन समिति गठन गरी प्रक्रियालाई अगाडि बढाउन पार्टी नेतृत्वलाई सुझाएको छ । आइतबारको वार्तामा भएको सहमतिअनुसार एकता संयोजन समितिले एकताका बाँकी सबै प्रक्रियालाई टुंग्याउनेछ ।
“दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्हलगायतका विषयमा पार्टी एकता संयोजन समितिले सहमति गरेअनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरियो”, बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।
दुई पार्टीबीच लामो समयदेखि नै पार्टी एकताको लागि पहल भइरहेको थियो । तर, स्वयम् पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको इच्छुक नदेखिएपछि एकता प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
तर, पार्टीका अर्का अध्यक्ष महिन्द्रराय यादव र बहुमत सदस्य माओवादी केन्द्रसँगको एकताको पक्षमा उभिएपछि पछिल्लो प्रक्रिया अघि बढेको हो ।
भट्टराई कम्युनिष्ट इतरसँग एकताको पक्षमा छन् । उनले यसअघि नै सार्वजनिकरुपमै माओवादी केन्द्रसँग एकता हुन नसक्ने बताएका थिए । तर, उनको इच्छा विपरित नै यादव पक्ष एकताको प्रक्रिया अगाडि बढेको छ ।
आइतबार माओवादी केन्द्रका नेताहरुसँगको छलफलमा यादव पक्षीय गंगानारायण श्रेष्ठलगायतका नेता सहभागि थिए ।
प्रचण्डको पत्रपछि नेसपाभित्र चरम विवाद
अध्यक्ष भट्टराई एकताको निम्ति इच्छुक नदेखिएपछि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेसपाका अर्का अध्यक्ष महेन्द्र राय यादवलाई पत्र लेख्दै एकताको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । प्रचण्डले गत भदौ ३० औपचारिकरुपमै यादवलाई सम्बोधन गर्दै पत्र लेखेका थिए ।
उक्त पत्रमा प्रचण्डले माओवादी केन्द्रको नामसमेत परिवर्तन गर्न सकिने बताएका थिए । उनले पार्टी कम्युनिष्ट नै रहने र पछाडिको नाम परिवर्तन सहमतिमै गर्न सकिने बताएका थिए ।
दोस्रो अध्यक्षलाई सम्बोधन गर्दै प्रचण्डले एकताका लागि गरेको औपचारिक पत्राचारपछि नेसपाभित्रको विवाद चरमतातर्फ पुगेको थियो ।
आफू दिल्ली गएका बेला प्रचण्डले अर्का अध्यक्षलाई पत्र पठाएपछि सार्वजनिकरुपमै भट्टराई आक्रोशित बनेका थिए । तथापी, भट्टराई बेगर नै एकताको प्रक्रिया भने रोकिएन ।