काठमाडौं । सतहमा हेर्दा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र माओवादी केन्द्रबीच पार्टी एकताको लागि अन्तिम गृहकार्य सुरु भएको देखिन्छ । आइतबार मात्रै दुई पार्टीको तर्फबाट वार्ता समितिका सदस्यले एकताका बाँकी प्रक्रियालाई टुंग्याउने सहमति गरेका थिए । दुई पार्टीबीच पार्टीको नाम र सिद्धान्तलगायतका विषयमा करिब सहमति बनिसकेको देखिन्छ ।
यद्यपि, भट्टराई पक्ष पूर्ण सहमत भइसकेको हो वा होइन स्पष्ट छैन । किनकी भट्टराई स्वयम् कम्युनिष्टबाहेकका शक्तिसँग सहकार्यको प्रयत्नमा देखिन्छन् ।
तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भने माओवादी केन्द्रसँग अघोषितरुपमा एकताबद्ध छ । समाजवादी मोर्चाको आवरणमा उ माओवादी केन्द्रसँग केही महिनादेखि नै सहकार्यमा छ । नेकपाका नेताहरुले माओवादी केन्द्रसँग छिट्टै एकता गर्नेगरी छलफल चलिरहेको पनि सार्वजनिकरुपमा बताएका छन् ।
जसबारे महासचिव विप्लवले पनि सार्वजनिकरुपमै बोलिरहेका छन् । उनले पूर्वमाओवादीहरुबीच एकता हुनुपर्ने धारणा राखिरहेका छन् ।
बाहिर देखिने गरी पनि दुई पार्टीबीच पनि एकताको निम्ति चरण–चरणमा छलफल चलिरहेको पाइन्छ । यद्यपि, कुनै पनि छलफलहरुले मूर्तरुप भने पाइसकेको देखिन्न ।
यस्तोमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीहरुबीच छिट्टै एकता हुने अवस्था बनेको बताएका छन् । उनले बाबुराम र विप्लव छिट्टै सँगै हुने बताएका छन् ।
पटक–पटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराशा छाएको बताएका प्रचण्डले माओवादी फुटेपछि जनयुद्धमार्फत् प्राप्त भएको उपलब्धि हराउँदो रहेछ भन्ने परेकाले एकताको विकल्प नभएको बताए।
“विप्लवसँग आज बिहान मात्रै छलफल भयो, बाबुराम भट्टराईसँग पनि निरन्तर संवाद भइरहेको छ”, उनले भनेका छन्, “विगतको जस्तो विभाजित भएर नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भएको छ।”
शान्ति प्रक्रियामा आएसँगै विभाजित बनिरहेको माओवादी घटकमा पछिल्ला कसरतले एकताबद्ध हुन लागेको संकेत देखिन्छ । नेताहरुका अभिव्यक्तिभन्दा परिस्थिति माओवादी घटकलाई बाध्यकारीरुपमा एकताबद्ध बनाउँदै गरेको पाइन्छ । जुन समग्र राजनीतिका लागि पनि सुखद नै हो ।