माइतीघरमा प्रदर्शन गर्न नदिने प्रशासनको तयारी, के गर्लान् प्रसाईं र बस्नेत ?-Sutra News

माइतीघरमा प्रदर्शन गर्न नदिने प्रशासनको तयारी, के गर्लान् प्रसाईं र बस्नेत ?

सोमबार, ४ मंसिर २०८०

सोमबार, ४ मंसिर २०८०

काठमाडाैं । मंसिर ७ गते आ-आफ्नो शक्ति प्रदर्शन गर्ने तयारीमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेका नेता महेश बस्नेतलाई माइतीघर मण्डलामा जिल्ला प्रशासन कार्यालय काठमाडौले प्रदर्शनको अनुमति नदिने भएको छ । तिहार तथा छठ विदा सकिएर सरकारी कार्यालय खुलेको पहिलो दिन सोमबार आगामी मंसिर ७ को शक्ति प्रदर्शनको लागि अनुमति लिन पुगेका दुबै पक्षका प्रतिनिधिहरूलाई जिल्ला प्रशासन कार्यालयले माइतीघरको विकल्प खोज्न आग्रह गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले जानकारी दिए ।



एमाले छोडेर पछिल्लो समयमा कट्टर राजावादी बनेका प्रसाईं र नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत पछिल्लो समयमा निकै तल्लो स्तरमा एक अर्का विरुद्ध वीष वमन गरिरहेका छन् । यस्तोमा मंसिर ७ को प्रदर्शन हिंसात्मक हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुबै पक्षलाई कार्यक्रमको स्थान अलग हुने गरि विकल्प खोज्न सुझाव दिएपनि दुबै पक्षले माइतीघरमै कार्यक्रम गरेरै देखाउने चुनौती समेत दिएका छन् ।

यस्तोमा आगामी मंसिर ७ गते बानेश्वर-माइतीघर क्षेत्रमा निषेधाज्ञा समेत जारी गर्न सक्ने संकेत जिल्ला प्रशासन कार्यालय काठमाडौले गरेको छ । दुबै पक्षलाई एकै ठाउँमा कार्यक्रम गर्न नदिने यसअघि नै निर्णय भैसकेको जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रसाईं र बस्नेत नेतृत्वको आन्दोलन एकै ठाउँमा आमने-सामने हुँदा सो क्षेत्रमा झडप हुने स्थिति सिर्जना हुने प्रवल सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौले माइतीघर मण्डलामा मात्रै नभएर दुबै पक्षलाई काठमाडौका कुनै पनि एउटै स्थान, समय र मितिमा कार्यक्रम गर्न नदिने जनाएको छ ।

दुबै पक्षलाई माइतीघर मण्डलाको विकल्पमा तिनकुने, खुल्लामञ्च, नारायण चौर, माछापोखरी, किर्तिपुर लगायतका क्षेत्रमध्ये एक रोजेर प्रशासनलाई जानकारी दिन पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुबै पक्षलाई आग्रह गरेको छ । युवा संघले मंसिर ७ गते आफ्नो कार्यक्रम रहेको भन्दै शान्ति सुरक्षाको लागि यसअघि नै निवेदन दिएको भएपनि प्रसाईंको समूहले भने सोमबार मात्रै कार्यक्रमबारे प्रशासनलाई जानकारी दिएको हो ।

प्रसाईं र बस्नेतको व्यक्तिगत टकरावलाई राजनीतिकरण गर्दै युवा संघले नेतृत्व गर्ने आन्दोलनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत अनुमोदन गरिदिएपछि गणतन्त्रवादी र राजावादी आपसमा भिड्ने हुन कि भन्ने संशय यतिबेला बढिरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हजुरबा भनेर सम्बोधन गर्ने प्रसाईंले कम्बोडियाको टेलिकम कम्पनीमा ओलीको तीन हजार करोड लगानी रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि यतिबेला प्रसाईं र एमाले नेता बस्नेत व्यक्तिगत तौवरमै गालिगलौजमा उत्रिएको सन्दर्भमा हुन लागेको शक्ति प्रदर्शन कतै हिंसात्मक बन्ने हो कि भन्नेमा सुरक्षा निकाय चनाखो देखिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौको पछिल्लो निर्णयपछि प्रसाईं र बस्नेतले के रोज्छ्न त्यसले पनि मंसिर ७ गतेको प्रदर्शन कस्तो हुनेछ भन्ने आकलन गर्न सकिन्छ । दुबै पक्षले माइतीघरमै कार्यक्रम गर्ने अडान राखे भने दुबै पक्ष एक अर्कासँग जुध्नु अगाडि नै प्रशासन सँगको मुठभेडमा पुग्ने अप्रीय स्थितिको सिर्जना हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट