काठमाडौं । एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाइँ नेतृत्वको नागरिक बचाउ अभियानले मंसिर ७ गते केन्द्रीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । नारामा सरकार र व्यवस्थाविरुद्ध आन्दोलन भनिएपनि दुवैका प्रर्दशन एकअर्काविरुद्ध लक्षित देखिएको छ । प्रदर्शन अगावैका घटनालाई हेर्दा, टकराव व्यक्तिगत जस्तो पनि देखिन थालेको छ ।
७ गतेका लागि प्रदर्शन भनिएपनि दुवै समूहले तयारीस्वरुप केही दिनअघिदेखि नै विभिन्न गतिविधिहरु गर्दै आएका थिए । मंगलबार युवा संघले जनप्रदर्शनको तयारी भन्दै राँके जुलुश नै निकालेको थियो । उपत्यकाका विभिन्न ठाउँबाट निकालिएको राँके जुलुश विशेषगरी प्रसाइँ समूहविरुद्ध नै लक्षित देखिन्थ्यो । जुलुशमा प्रसाइँविरुद्ध नाराबाजी लगाइएको थियो ।
साँझ राँके जुलुश निकालेको युवा संघले मध्यरातमा प्रसाइँ समूहका कार्यकर्ता तथा शुभेच्छुकमाथि दुर्व्यवहार गरेको छ । लोकन्थलीस्थित एक पार्टी प्यालेसमा बसेका प्रसाइँ समूहका महिला कार्यकर्ताहरुलाई युवा संघका कार्यकर्ताले मध्यरातमा ओछ्याउनबाटै लगारेको थियो । युवा संघका कार्यकर्ताले प्रसाइँ समूहका महिलाहरुमाथि गरेको दुर्व्यवहारकाे भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
महिलाहरुमाथि दुर्व्यवहार गरिएको घटनामा युवा संघका सचिवालय सदस्य विनोद राईले नेतृत्व गरेको विषय बाहिरिएको छ । उनले यसअघि प्रसाइँलाई कालोमोसो पनि दलेका थिए ।
सतहमा यी घटना देखिरहँदा मंसिर ७ को दिन दुई समूहबीच हिंस्सात्मक मुडभेड हुने त होइन ? त्रास सिर्जना भएको छ । यद्यपी, सरकारले उपत्यकाका संवेदनशील केही क्षेत्रलाई निषेधित क्षेत्रको रुपमा तोक्दै प्रदर्शनको क्षेत्र तोकिदिएको भएपनि घुसपैठको सम्भावना बढी नै देखिन्छ । सुरुवाती घटनाहरुले उक्त दिन सामान्य रहला जस्तो देखिन्न ।
ओली र प्रसाइँबीचको नोंकझोंकपछिको परिणाम
प्रसाइँ विगतमा एमालेको केन्द्रीय सदस्यको रुपमा जिम्मेवारीमा थिए । उनी एमालेमा रहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीका निकै निकट मानिन्थे । प्रसाइँले ओलीलाई आर्थिकरुपमा पनि सघाएको पाइन्छ । तर, पछिल्लो समय ओली र प्रसाइँबीच निकै नोंकझोंकपूर्ण सम्बन्ध विकास भएको पाइन्छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई लगेर राजसंस्थाको पक्षमा अभियान सुरु गरेपछि ओलीले प्रसाइँलाई पार्टीबाट निकालेका थिए । त्यसयता प्रसाइँ ओलीविरुद्ध खनिइरहेका छन् भने ओलीले पनि प्रसाइँलक्षित अभिव्यक्ति दिइरहेका छन् । पछिल्लो घटनाक्रमलाई ओली र प्रसाइँबीच सम्बन्ध बिग्रिएपछिको परिणामका रुपमा लिन सकिन्छ ।
आफूविरुद्ध वीष बमन गरिरहेका प्रसाइँलाई तह लगाउने गरी ओलीले महेश बस्नेतलाई अगाडि सारेको देखिन्छ । आवरणमा एमालेको युवा संघ र प्रसाइँ समूहबीच लडाइँ देखिएपनि अन्तर्यमा घटना व्यक्तिगत शैलीकै टकराव हुन लागेको देखिन्छ ।