काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँ घरमै नजरबन्दमा परेका छन् । काठमाडौंको तीनकुनेमा प्रदर्शनको घोषणा गरेका प्रसाइँलाई प्रशासनले घरमै नजरबन्दमा राखेको हो ।
भक्तपुरस्थित उनको निवासलाई प्रहरीले घेराबन्दी गरेको छ । उनको निवासमा प्रहरीको स्पेसल टाक्स फोर्स परिचालन गरिएको छ । आन्दोलनका सन्दर्भमा आक्रामक अभिव्यक्ति दिएपछि सुरक्षालाई हेर्दे निगरानीमा राखिएको प्रशासनले जनाएको छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ उनलाई नजरबन्दमा राखिएको नभई सुरक्षा चुनौतिका कारण निगरानीमा राखिएको बताएकी छिन् । प्रसाइँकै सुरक्षामा प्रश्न उठेपछि निगरानीमा राखिएको उनले बताइन् ।
“उहाँकै सुरक्षाका कारण हामीले उहाँ र उहाँका कार्यकर्तालाई सुरक्षासहित निगरानीमा राखेका हौँ, यो स्थान हद वा नजरबन्द केही होइन”, उनले भनेकी छिन् ।
प्रसाइँ समूहले तोकिएको स्थानमा प्रदर्शन गर्न सहमति जनाएमा भने जान दिन सकिने उनको भनाई छ ।
आफूलाई नजरबन्दमा राखिएपछि पत्रकार सम्मेलन गरेर प्रसाइँले आफू पछि हट्नेवाला नभएको बताएका छन् । उनले आफ्नो आन्दोलनमाथि हदैसम्म दमन गरिएको बताएका छन् । उनले व्यवस्था परिवर्तन नहुन्जेलसम्म आन्दोलन नरोक्ने पनि चेतावनी दिएका छन् ।
“मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने ? हामीले गणतन्त्र यसैका लागि ल्याएको हो ?”, उनले प्रश्न गरेका छन्, “पुलिसको यातना भोग्न पनि तयार छु, म भाग्नेवाला छैन। यो व्यवस्था परिवर्तन नहुञ्जेल आन्दोलन जारी रहन्छ ।”
प्रहरी प्रशासनले शुक्रबार मात्रै बल्खु प्रदर्शनमा सहभागि ८ जनालाई पक्राउ गरेको छ । शान्तिपूर्ण भनिएको आन्दोलनमा प्रहरीमाथि ढुंगामुढा गरिएको भन्दै पक्राउ गरेको हो ।