काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकताको प्रक्रिया औपचारिकरुपमै सुरु भएको छ । दुई दलका वार्ता समितिबीचको म्यान्डेटअनुसार प्रक्रिया अघि बढेको हो ।
एकताका लागि नेसपाले स्वयम् पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजनमा एकता समिति बनाइसकेको छ । यता, माओवादी केन्द्रले भने केन्द्रीय समिति बैठकबाटै एकता संयोजन समिति बनाउने तयारी गरेको छ ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएअनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणपछि बस्ने केन्द्रीय समिति बैठकले समितिबारे टुंगो लगाउने छ । प्रधानमन्त्रीले मंसिर १३ देखि १७ गतेसम्म युएईको भ्रमण गर्दैछन् ।
“प्रधानमन्त्री विदेश भ्रमणमा जान लाग्नुभएको छ, अहिले तत्कालै बैठक बसेर समिति बनाउने समय छैन, उहाँ फर्किएलगत्तै बैठक बस्ने र संयोजन समिति बनाउने तयारी छ”, ढकालले भनेका छन् ।
केन्द्रीय समिति बैठकले नै कसको नेतृत्वमा संयोजन समिति बनाउने निर्णय लिने उनले बताए ।
नयाँ शक्ति अभियान घोषणा गर्दै भट्टराई २०७२ असोज ९ देखि माओवादीबाट अलग भएका थिए । त्यसयता उनले थुप्रै पार्टी चहारीसकेका छन् । जसपासँगको विभाजनपछि भट्टराईले नेसपाको गठन गरेका हुन् ।
माओवादी केन्द्रसँग एकता गर्ने सन्दर्भमा पनि भट्टराईले थुप्रै असहमति राख्दै आएका थिए । तर, पार्टीभित्रको बहुमत पक्ष पुनः एकताको पक्षमा उभिएपछि उनी एकता गर्ने निर्णयमा पुगेका हुन् ।
यद्यपि, योबीचमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष भट्टराईबीच पटक–पटक भेटवार्ता भएको थियो ।
गत निर्वाचनमा माओवादी केन्द्र र नेसपाबीच चुनावी सहकार्य नै भएको थियो । नेसपाका सबै उम्मेदवार माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लडेका थिए ।
चुनावमा भट्टराईले आफ्नै निर्वाचन क्षेत्रमा लगेर प्रचण्डलाई चुनाव लडाएका थिए । प्रचण्डलाई जिताउनका निम्ति उनले सहयोग पनि गरेका थिए ।