काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार हुने बताएका छन् । यस क्रममा उनले नियुक्त भएका मन्त्रीहरूले पनि चाँडै जिम्मेवारी पाउने बताए ।
पत्रकारसँग कुराकानी गर्ने क्रममा मुख्यमन्त्री कार्कीले भने, ‘हामी सरकार विस्तार र जिम्मेवारी दिने विषयमा छलफलमै छौँ, हामी चाँडै सरकार विस्तारमा लाग्ने छौँ ।’
कुराकानीका क्रममा मुख्यमन्त्री कार्कीले मन्त्रालयको सङ्ख्याबारे समेत प्रष्ट पारेका थिए । उनले भने, ‘मन्त्रालयको सङ्ख्या बढाउने विषयमा भने हामीले केही पनि सोचेका छैनौँ ।’
यसअघिका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले कोशी प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाएर नौ बनाएको थियो ।
कोशीमा अहिले सत्ता गठबन्धन दलहरू कांग्रेससहित माओवादी र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएका छन् । कांग्रेसबाट मुख्यमन्त्रीसहित २ र माओवादी र एकीकृत समाजवादीबाट एक/एक जना मन्त्री छन् ।
कोशीमा माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि काङ्ग्रेसबाट विद्रोह गरेर कार्की एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, एमाले प्रदेश सरकारबाट बाहिरिएको छ ।