क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत-Sutra News

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत

आइतबार, १० मंसिर २०८०

आइतबार, १० मंसिर २०८०

काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले पौड्यालको संसदीय सुनुवाई गर्दै सर्वसम्मत अनुमोदन गरेको हो ।



यसअघि कार्तिक १५ गते बसेको समितिको बैठकले पौड्यालविरुद्ध उजुरी आह्वान गरेको थियो । यसबीचमा पौड्यालविरुद्ध दुई वटा उजुरी परेको थियो । उजुरीकर्तामध्ये सम्पर्कमा आएका एक जनासँग समितिले आइतबार नै छलफल गरेको थियो ।

उजुरी लगायत भावी कार्य योजनाका बारेमा छलफल गरी समितिले पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

संसदीय सुनुवाइ समितिको सुनुवाइका क्रममा समिति सदस्यहरूको जिज्ञासामा प्रस्तावित राजदूत पौड्यालले यसअघि पनि सचिवलाई राजदूत सिफारिस गर्ने प्रचलन रहेको बताए । सरकारलाई आएको छात्रवृतिमा छोरीलाई विदेश पठाएको उजुरी साँचो नरहेको उनले बताएका थिए ।

पौड्यालले आफू राजदूतमा नियुक्त भए क्यानडामा रहेका नेपालीहरूको समस्या समाधान गर्न र दुई पक्षीय सम्बन्ध विस्तार गर्न ध्यान केन्द्रीत हुने जिकीर गरेका थिए ।

हाल परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई सरकारले क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैर आवासीय राजदूत तथा आइकाओका लागि स्थायी प्रतिनिधिको पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट