प्रधानमन्त्रीकाे अर्काे विदेश भ्रमण : मंसिर १३ गते दुबई जाने-Sutra News

प्रधानमन्त्रीकाे अर्काे विदेश भ्रमण : मंसिर १३ गते दुबई जाने

सोमबार, ११ मंसिर २०८०

सोमबार, ११ मंसिर २०८०

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सकाे दुबई जाने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई जान लागेका हुन् ।



कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले उक्त सम्मेलनको उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनेछन् ।

साथै, प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्सको ५२औँ संघीय दिवस समारोह र ‘जायेद सस्टेनाबिलिटी प्राइज अवार्ड समारोह’मा पनि सहभागी हुने कार्यक्रम छ । उनले डिसेम्बर २ काे दिन जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनुका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवर्द्धन गर्न ‘हिमालको आह्वानः जलवायु संकटबाट हामीलाई कसले बचाउँछ ?’ शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले उच्च–स्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने तालिका रहेको मन्त्रालयले जनाएको छ । उनले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरु सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी डिसेम्बर ३ तारिखमा स्वदेश फर्कने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट