मधेसवादीलाई पछार्ने रणनीतिसहित मधेस झरे रवि-Sutra News

मधेसवादीलाई पछार्ने रणनीतिसहित मधेस झरे रवि

मंगलबार, १२ मंसिर २०८०

मंगलबार, १२ मंसिर २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबारदेखि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा सुरु गरेको छ । तीन दिनसम्म चल्ने बैठकको मूल लक्ष्य सबैभन्दा धेरै जनमत भएको मधेस प्रदेशमा संगठन विस्तार गर्नु रहेको छ । मधेसका विभिन्न जिल्लामा भएको कार्यक्रमलाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गरेका थिए ।



२०७९ सालको निर्वाचनमा देशको नयाँ राजनीतिक शक्तिका रूपमा उदाए पनि मधेशमा एक सिट जित्न नसकेको रास्वपाका सभापति मधेसवादी दलमाथि खनिए । पार्टी सभापति लामिछानेले आगामी निर्वाचनमा मधेसको भाग्य कसले लुट्यो भन्ने फैसला हुने दाबी गरे ।

“जब क्षमतावान मान्छे देशको अख्तियारजस्तो निकायमा पुग्नेछ, त्यतिखेर मधेसका नाममा लुट्ने लुटेराहरूको हिसाब जस्ताको त्यस्तै बाहिर आउँछ”, उनले भनेका छन्, “मधेसको भाग्य कसले लुटेर खायो ? त्यसको हिसाब त मधेसले माग्ने नै छ ।”

गत वैशाख १० गतेको उपनिर्वाचनमा चितवन र तनहुँमा जिते पनि बारामा रास्वपाका उम्मेदवार पूर्वडीआईजी रमेश खरेलको जमानत जफत भएको थियो । रास्वपा सोही पीडा भुलाएर आगामी निर्वाचनलाई लक्षित गरी मधेस झरेको हो भन्न कुनै कञ्जुस्याई गर्नु पर्दैन । त्यसैको पहिलो खुड्किलो हो, जलेश्वरमा सुरु भएको बैठक ।

बैठक बस्नुअघि प्रतिनिधिसभा सदस्य तथा रास्वपा नेता मनिष झाले मधेस प्रदेशमा संगठन निर्माणमा केन्द्रित हुन रणनीतिकरूपमा बैठकले महत्वपूर्ण सन्देश प्रवाह गर्ने दाबी गरे ।

पार्टीप्रति तीव्र जनलहर हुँदासमेत चुनावमा जित हात पार्न नसकेपछि रास्वपा मधेस झर्ने बिन्दुमा पुगेको हो । यसअघि आगामी निर्वाचनमा बहुमत ल्याउने उद्घोष गर्दै अरू प्रदेशमा कार्यक्रम गर्दै आएको रास्वपाले जलेश्वरको बैठकमार्फत सांगठनिक विस्तारमा कस्तो तयारी गर्नेछ ? त्यो हेर्न बाँकी नै छ ।

सामान्य भेटघाटलाई समेत चुनावी ढाँचामा प्रस्तुत गर्ने रास्वपाका पार्टी सभापति लामिछानेसहित नेताहरूको सक्रियताले आगामी निर्वाचनका लागि हतारो गरिरहेको आभास हुन्छ ।

सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन्, “घरदैलो चुनावका बेला मात्र होइन, निरन्तर हुनुपर्छ, गत वर्षको मंसिर ४ र यसै वर्षको वैशाख १० गते ‘घण्टी’मा मतदान गरी रास्वपालाई चौथो शक्तिका रुपमा स्थापित गरिदिनुभएकोमा धन्यवाद, निर्वाचनको एक वर्ष पूरा भएको अवसरमा रास्वपा आभार व्यक्त गर्न फेरि तपाईंको घरदैलोमा आउँदै छौँ ।”

०७९ सालको निर्वाचनअघि हतारमा पार्टी दर्ता गरी चुनावमा होमिएको रास्वपाले स्थानीय र प्रदेश तहको निर्वाचनमा आफ्नो उम्मेदवारीसमेत दिन भ्याएन । छोटो समयमै चुनावमा होमिएर चौथो शक्ति बनेको रास्वपा उपप्रधानसहित गृहमन्त्रालयको नेतृत्व गर्दै एक महिना सरकारमा बसेपछि बहुमत ल्याउने उद्घोषसहित चुनावी अभियानमा होमिएको हो । तर, ०८४ को चुनाव आउन चार वर्ष बाँकी हुँदै बहुमत ल्याउने दाबी गरी अभियान थालेको रास्वपाले जनताको मत जित्न लामो समय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट