काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग आर्थिक लेनदेनको विषयबाट विवादमा तानिएपछि तत्कालिन सांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदमुक्त गर्यो । उनी पार्टीको कुनै पनि जिम्मेवारीमा रहन पाएनन् ।
पार्टीबाटै कारबाहीमा परेपछि श्रेष्ठले पनि उक्त लेनदेनको विषयका अन्य कुरा खोले । उनले केन्द्रीय सदस्य मोहनबहादुर थापाले आफूसँग तीन करोड मागेको कुरा सञ्चारमाध्यममार्फत सार्वजनिक गरे । जुन घटनाले रास्वपा नेतृत्वलाई नराम्रोसँग विवादमा तान्यो ।
ढाकाकुमारले उक्त लेनदेनको घटनामा सभापति रवि लामिछाने नै मुछिएको पनि आरोप लगाएका थिए । ढाकाकुमारको उक्त आरोपपछि रास्वपाले छानबिन समिति पनि बनाएको थियो ।
उक्त आरोपपछि थापाले ढाकाकुमारविरुद्ध काठमाडौं जिल्ला अदालतमा मानहानीको मुद्दासमेत दायर गरे । थापाले दायर गरेको रिट विचाराधिन छ ।
आर्थिक लेनदेनको विषयले पार्टी नेतृत्वसमेत विवादमा तानिने अवस्था बनेपछि थापाले स्वघोषणा गर्दै अदालतको फैसला नआन्जेल जिम्मेवारी मुक्त रहने बताएका थिए । जसलाई रास्वपाले स्वीकार गर्ने निर्णय सार्वजनिक गरेकाे थियाे ।
जुन निर्णयपछि पनि थापाबारे प्रश्नहरू उठिरहेकाे थियाे । उनकाे स्वघाेषणामाथि प्रश्न उठाइएकाे थियाे ।
तर, महोत्तरीमा जारी बैठकमा उनको उपस्थिति छैन । रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताएअनुसार अदालतको फैसला नआउन्जेल थापालाई जिम्मेवारीमा नराख्ने निर्णय भएको छ ।
‘उहाँले नैतिकरुपमा केन्द्रीय बैठकमा नबस्ने जानकारी गराउनुभएको थियाे, अदालतबाट फैसला नआउँदासम्म जिम्मेवारीमा उहाँ जिम्मेवारीमा रहनुहुन्न’, बुर्लाकाेटीले भनेका छन् ।