काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका १४ सांसदलाई केन्द्रीय समितिमा मनोनित गरेको छ ।
महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले १४ सांसदलाई मनोनित गरेको हो । पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १४ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको जानकारी दिए ।
यसअघि सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्यालसहित ६ सांसद मात्रै केन्द्रीय समितिमा थिए । १४ जना सांसद केन्द्रीय समितिमा मनोनित भएसँगै ५२ जनाको समिति बनेको छ ।
बैठकले सांसदहरू विराजभक्त श्रेष्ठ, सन्तोष परियार, डा. स्वर्णिम वाग्ले, निशा डाँगी, मनिष झा, शिशिर खनाल, हरि ढकाल, डा. तोसिमा कार्की, डा. चन्दा कार्की, असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, विनीता कठायत र शिव नेपालीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।