काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नेतृत्वकर्ता मेडिकल व्यवसायी दुर्गाले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने उद्घोष गरेका छन् । उनले आगामी मंसिर ३० गते ‘नागरिक सरकार’ घोषणा गरेर समानान्तर सरकारको अभ्यास गर्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले समानान्तर सरकार बनाउने बताएका हुन् ।
प्रसाइँले केन्द्रदेखि पालिका तथा वडा तहसम्मै समानान्तर संरचना बनाउने बताएका छन् । “आम जनसमुदायका बीचमा जान र उनीहरुलाई परिचालन गर्न हामीले सुरु गरेको अभियानलाई विकेन्द्रीकृत गरी मंसिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाउँ–गाउँ, वडा–वडादेखि सशक्त बनाई लैजाने निर्णय गरेका छौं”, प्रसाइँले आइतबार पत्रकार सम्मेलन गर्दै भनेका छन् ।
हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दालाई स्थापित गराउन आन्दोलनलाई थप सशक्त बनाउने पनि उनको भनाई छ । जसका लागि आम शोषित तथा पीडितको घर–घरमा पुग्ने उनको उद्घोष छ ।
“हामीले हाम्रा कार्यक्रमरुलाई थप परिस्कृत गर्ने निर्णय गरेका छौं, अब हामी शोषित पीडित जनताका घर–घरमा पुग्नेछौं, उहाँहरुलाई थप उर्जा दिएर जागरुक गोलबद्ध र एकीकृत गर्नेछौं”, उनले आन्दोलनका कार्यक्रमबारे भनेका छन् ।
आगामी फागुन १ मा पुनः पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागि बनाएर विद्रोहको संशघोष गर्ने उनको भनाई छ ।
गत मंसिर ७ मा व्यवस्था नै उल्ट्याउने भन्दै केन्द्रीय राजधानी काठमाडौंमा प्रसाइँ समूहले सडक प्रदर्शन गरेको थियो । मंसिर ७ को दिन प्रदर्शन केही उत्साहजनक बनेपनि त्यसयता भने उनको प्रदर्शन कमजोर देखिन्छ । तथापी, सरकार पक्षको मौनतालाई फाइदा लिँदै प्रसाइँ समूहले भूमिकालाई भने क्रमशः बढाउँदै लगिरहेको छ ।
प्रसाइँ समूहले क्रमशः अराजक शैलीलाई बढाइरहँदा सरकारले भने खासै वास्ता गरेको छैन । मंसिर ७ देखि योबीचमा झण्डै दुई दर्जन उनका समर्थक पक्राउ गरेको सरकारले प्रसाइँ समूह मथ्थर भइसकेको निष्कर्ष निकालेको छ ।
“प्रसाइँले अराजकता मच्चाउन खोजेको हो, तर उनको पछाडि जनसमर्थन छैन”, प्रधानमन्त्री निकटका एक नेताले भनेका छन्, “यस्तो परिस्थितिलाई महत्व दिनु हुँदैन । अति हुँदा कारबाही गर्ने हो ।”