काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को पुरै सेट परिवर्तनको तयारी थालेका छन् । आफ्नो कार्यकाल एक वर्ष पुग्दै गर्दा प्रधानमन्त्रीले सेट परिवर्तनको तयारी थालेका हुन् ।
सरकारको नेतृत्व गरेर गठबन्धन परिवर्तन गर्दै भ्रष्टाचार विरोधी अभियान सुरु गरेर जनसमर्थन बटुलेका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार पछिल्लो समय जनस्तरबाटै आलोचित भइरहेको छ । यही मेसोमा आफ्नो कार्यकाल एक वर्ष पुग्न लागेको अवसरमा मन्त्रीपरिषद्को सेट नै परिवर्तन गर्नेगरी छलफल थालेका हुन् । यसको लागि उनले सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिसकेको बालुवाटार निकट उच्च स्रोतले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद्को सेट नै परिवर्तन गर्ने प्रयासमा कांग्रेस सभापति देउवाले पनि आफू बाधक नबन्ने भन्दै गृह मन्त्रालय कांग्रेसले पाउनुपर्ने अडान राखेको र त्यसको सट्टामा अर्थ मन्त्रालय छाड्न तयार रहेको संकेत गरेको बुझिएको छ । कांग्रेस अहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जसरी पनि हटाउनै पर्ने रणनीतिमा रहेको हुनाले पनि प्रचण्डको यो प्रस्तावलाई सकारात्मक रूपमा लिएको हुनसक्ने जानकारहरू बताउँछन् ।
प्रधानमन्त्री प्रचण्डले सबै दलबाट सरकारमा सहभागी मन्त्रीहरू परिवर्तन गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सहभागी हुन सभापति रवि लामिछानेसँग छलफल गरेको बुझिएको छ । प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेबिच प्रधानमन्त्री निवास बालुवाटारमै भएको भेटमा प्रधानमन्त्रीले रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तथापी, रास्वपाले यसअघिकै अडान राखेको बुझिएको छ । तत्कालिन समय उपप्रधानसहित गृहमन्त्री नपाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।
मन्त्रीपरिषद् परिवर्तन गर्दा प्रधानमन्त्रीले सत्ता गठबन्धनको अर्को घटक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई भने सरकारबाट बाहिर निकाल्ने रणनीति बनाएका छन् । गौर हत्याकाण्डको विषयलाई लिएर उपेन्द्र र प्रचण्डबीच सम्बन्ध चिसिएको छ । सत्ता गठबन्धन र समाजवादी मोर्चामा सहभागी हुँदाहुँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफू नेतृत्वको सरकार ढाल्नको लागि पटक(पटक छलफल गरेको भन्दै उपेन्द्रसँग प्रचण्ड थप रुष्ट बनेका छन् ।
मन्त्रीपरिषद्को सेट परिवर्तन गर्ने कुरामा प्रधानमन्त्री प्रचण्डले आफ्ना प्रमुख राजनैतिक सल्लाहकार हरिबोल गजुरेलमार्फत नेपाली कांग्रेसको संस्थापन इतर समूहसँग पनि समानान्तर छलफल गरिरहेको बुझिएको छ । संस्थापन इतर समूहलाई उपेक्षा गर्दा कोशी प्रदेशमा माओवादी केन्द्रको हातमा आइसकेको मुख्यमन्त्री पद चिप्लिएर कांग्रेस नेता केदार कार्कीको हातमा पुगेको सन्दर्भलाई ध्यानमा राखेर प्रधानमन्त्रीले समानान्तर संवाद अगाडि बढाएको बुझ्न कठिन छैन । त्यो किनपनी भने संस्थापन इतर समूहले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई कांग्रेस नेतृत्वको सरकारले प्रतिस्थापन गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति बारम्बार दिंदै आइरहेका छन् ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहले नेपाली कांग्रेसबाटै सरकारमा सहभागी मन्त्रीहरूले राम्रो काम गरेर देखाउन नसकेको भन्दै आलोचना भैरहेको छ । अर्कोतिर यहीबेला राष्ट्रियसभा निर्वाचनको कार्यतालिका पनि सार्वजनिक भैसकेको छ यस्तोमा राष्ट्रियसभा निर्वाचनको समीकरणलाई समेत ध्यानमा राखेर प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद् पुनर्गठन गर्न लागेका भएपनि कांग्रेस र रविको रोजाइमा गृहमन्त्री पर्दा र माओवादी केन्द्रले अर्थमन्त्री पाउँदा अर्थमन्त्री पाउन माओवादी भित्रैबाट पूर्वअर्थमन्त्रीद्वय जनार्दन शर्मा र वर्षमान पुनको दौडधुप सुरु हुँदा मन्त्रीपरिषद् परिवर्तन गर्ने प्रचण्डको योजना भने रोचक मोडमा प्रवेश गरेको छ ।