काठमाडौं । नेकपा एकीकृत समाजवादीको ६९ औँ केन्द्रीय सचिवालय बैठक मंगलबार पुनः सुरु भएको छ । सोमबारदेखि सुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पुनः बसेको हो ।
हिजोको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो । सो पार्टीको महाधिवेशनको मिति नतोकिएकाले बैठक आज पुनः बोलाइएको हो ।
बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उनले पार्टीको महाधिवेशनको मिति, राष्ट्रियसभाको निर्वाचनसहितका समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताए ।
‘आजको बैठकमा पार्टीको महाधिवेशनको मिति तय गरिने छ र राष्ट्रियसभाको निर्वाचनका साथै अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुँदैछ,’ उनले भने ।