एमालेको सङ्कल्प यात्रा कास्की आइपुग्यो-Sutra News

एमालेको सङ्कल्प यात्रा कास्की आइपुग्यो

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

काठमाडौं । नेकपा एमालेको मध्य पहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली बिहीबार कास्की आइपुग्ने भएको छ ।



गत १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको उक्त सङ्कल्प यात्राअन्तर्गत कास्कीमा दुई दिनसम्म विविध कार्यक्रम तय गरिएको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

एमाले जिल्ला किमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई बिहीबार दिउँसो कास्की र पर्वतको सीमास्थल नयाँ पुलमा स्वागत गरिने भएको छ ।

यस्तै, कास्कीको अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत, पोखरा महानगरपालिकाको हेम्जामा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

शुक्रबार बिहान पोखराको अमरसिँहचोक, तालचोक र रुपा गाउँपालिकाको तालबेँसीमा स्वागत कार्यक्रम हुने उनले बताए । उक्त टोली रुपा गाउँपालिकाको पिपले बजार हुँदै लमजुङ प्रस्थान गर्ने जनाइएको छ ।

‘हेम्जा र तालचोकमा भेटघाटसहित पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ,’ गुरुङले भने, ‘स्थानीयवासीसँग विकास निर्माण र जनजीविकाका विषयमा अध्यक्षले अन्तरक्रिया गर्नु हुनेछ ।’

सङ्कल्प यात्रामा सहभागी टोलीलाई एमाले स्थायी कमिटी सदस्य एवं कास्की जल्ला इञ्चार्ज थममाया थापासहित नेता, कार्यकर्ताले कास्कीमा स्वागत गर्ने एमालेले जनाएको छ ।

एमाले स्थायी कमिटी सदस्य थापाले गणतन्त्र, नेपालको संविधान र राजनीतिक उपलब्धिको रक्षार्थ समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सङ्कल्प यात्रा सुरु गरिएको बताए । सङ्कल्प यात्राका क्रममा नागरिकका अनुभूति, सुझाव र गुनासा सङ्कलन गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट