काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध बलियो प्रतिस्पर्धामा देखिएका डा. शेखर कोइरालालाई १५औं महाधिवेशनपछिको सम्भावित सभापतिको रुपमा चित्रित गरिएको थियो । १४औं महाधिवेशनमै ४० प्रतिशत मत ल्याएर देउवालाई सहज जित हात पार्न सकस बनाएका कोइरालाले आगामी महाधिवेशनमा सहज जित हात पार्न सक्ने अड्कल कांग्रेसभित्र देखिन्थ्यो । तर, पछिल्लो समय स्वयम् कोइरालाको अराजक खालको शैली र अभिव्यक्तिले उनको पक्षमा देखिएको मत क्रमशः हराउन थालेको छ ।
पछिल्लो समय कोइरालाका अभिव्यक्ति तार्किक र तथ्यपूर्णभन्दा विरोधका लागि विरोध गर्ने खालका देखिन्छन् । पार्टीभित्र सभापति देउवाको आलोचना गरिरहनु र सरकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अर्थहिन आलोचना गर्नु उनको दैनिकी नै बनेको छ ।
प्रचण्ड नेतृत्वको सरकारमा उनकै समूहका दुई नेता पनि सहभागि छन् । धनराज गुरुङले कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् भने डिगबहादुर लिम्बुले खेलकुद मन्त्रीको जिम्मेवारी पाएका छन् । कोइराला समूहबाट बनेका दुवै मन्त्री कार्यसम्पादनको हिसाबले भने निकै कमजोर छन् । गुरुङबाट केही अपेक्षा गरिएपनि उनी पनि सबैभन्दा बढी विवादित मध्येमा पर्दछन् । सामाजिक सञ्जालमा निकै आलोचना हुनेमध्येमा उनको पनि नाम पर्दछ ।
अहिले कानुन निर्माणसँग सम्बन्धित थुप्रै विषय अलपत्र परेको छ । केही विषय राजनीतिकरुपमा पेचिलोपूर्ण छ भने केही विषयमा मन्त्रीहरुकै सक्रियता कमजोर देखिन्छ । तर, आफ्नैले कानुन मन्त्रालयको जिम्मेवारी लिँदा आएका विवादमाथि स्वयम् कोइराला भने पानीमाथिको ओभानो बन्ने गरेका छन् । कोइराला आफ्नो मन्त्रीको विषयमा मौन बन्छन् भने अन्यको विषयमा आलोचना गरिरहन्छन् ।
अहिले मुलुकको अर्थतन्त्रको बागडोर कांग्रेसकै पार्टी प्रवक्ता समेत रहेका डा. रामशरण महतको काँधमा छ । अर्थतन्त्रलाई ट्रयामा ल्याउन उनकै भूमिका महत्वपूर्ण हुन्छ । तर, कोइराला ती विषयलाई नजरअन्दाज गर्दै सरकारको रुखो आलोचना मात्रै गरिरहेका हुन्छन् ।
अहिले बैंक तथा वित्तीय क्षेत्रमा केही अराजक शैलीको कारण पनि समस्या निम्तिरहेको छ । दुर्गा प्रसाइँले चलाएको ‘ऋण नर्तिने’ अभियानले पनि धेरै प्रभावित छ । तर, दुर्गा प्रसाइँ जस्तो तहमा कोइरालाले पनि अभिव्यक्ति दिन थालेका छन् । शनिबार एक सार्वजनिक मञ्चको प्रयोग गर्दै उनले वाणिज्य बैंकहरु ‘ठूला मिटरब्याजी’ भएको आरोप लगाए । बैंकहरुलाई ‘तह’ लगाउनुपर्ने भन्ने कोणबाट उनले अभिव्यक्ति दिए ।
कांग्रेसको सम्भावित सभापति, भोलिका सम्भावित प्रधानमन्त्रीको रुपमा हेरिएका कोइरालाको पछिल्लो अभिव्यक्तिबाट भने थुप्रै प्रश्नहरु उठेका छन् । तथ्यमा हेर्दा, पछिल्ला केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाको नाफामा उल्लेख्य गिरावट आएको छ भने ए लेभलकै करिब आधा दर्जन बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्ने हैसियत राख्दैनन् । यस्तो अवस्थामा ति बैंकहरु कसरी मिटरब्याजी भए ? यसको हेक्का देशको सबैभन्दा ठूलो पार्टीको आन्तरिक सत्ता र सरकारको नेतृत्वमा पुग्ने चाहना राख्ने नेताले राख्नु पर्छ कि पर्दैन ?
जसरी देशमा आम निर्वाचन सकिएको केही दिनमै अर्को निर्वाचनको तयारीस्वरूप ‘मिसन ८४’ चलिरहेको छ । त्यसैगरी नेपाली कांग्रेसमा पनि १४ औं महाधिवेशन सकिएको केही समय नबित्दै १५ औं महाधिवेशनको तयारी सुरु भैसकेको छ । १४ औं महाधिवेशनको प्रतिस्पर्धामा नै यस पटक र एक पटक भन्ने नारा लिएर मैदानमा उत्रिएका शेखरले आफ्नै प्रतिबद्धता विपरीत १५ औं महाधिवेशनमा नेतृत्वमा पुग्ने रणनीति अगाडि बढाएपछि १४ औं महाधिवेशनबाट लोकप्रिय मतसहित महामन्त्रीमा निर्वाचित गगन थापाले पनि आफ्नो सक्रियता बढाएका छन् ।
नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको समेत थापाले साथ पाएको चर्चा कांग्रेस वृत्तमा चल्न थालेको छ भने आधा दर्जन जति सांसद र दर्जन बढी केन्द्रीय सदस्यले खुलेर महामन्त्री थापालाई सहयोग गरेपछि आफ्नो रणनीति फेल हुने सम्भावना बुझेर शेखरले पार्टी सभापति शेरबहादुर देउवासँग नजिकिने प्रयास गरेपनी सभापति देउवाले शेखरलाई कुनै महत्व नदिएपछि अराजक र सस्तो अभिव्यक्ति दिन खालेको कतिपयको टिप्पणी छ ।
सत्ता गठबन्धनको निर्णय विपरीत कोशीमा आफ्नो समूहका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सफल भएपछि त्यही मोडलमा बागमतीमा सत्ता परिवर्तन गर्ने शेखरको रणनीति गगनहरूकै असहमतिका कारण अगाडि बढ्न नसकेको अवस्थामा अहिलेको सरकारलाई विस्थापित गरेर बन्ने आफ्नै पार्टी सभापति नेतृत्वको सरकारलाई प्रतिस्थापन गरेर शेखर संसदको यही कार्यकालमा प्रधानमन्त्री बन्छन् वा बन्दैनन त्यो आउने दिनमा प्रष्ट हुँदै जाला, तर जसरी पनि पार्टी र सरकारको नेतृत्वमा पुग्ने हुटहुटीले भष्मासुर शैलीमा विरोध बाहेक केही नगर्ने उनको प्रवृत्तिले उनको त कुनै हित हुँदैन न कांग्रेस र मुलुकका लागि समेत उनको यस्तो हर्कतले कुनै फाइदा पुग्ने देखिंदैन । बरु यही असन्तुष्टिको जगमा खेल्ने प्रसाईं वा प्रसाईं प्रवृत्तिलाई बढावा दिन भने पक्कै सहायक सिद्व हुनेछ ।