काठमाडौं । दुई वर्षअघि जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विभाजन उन्मुख बनेको छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीचको टकरावले पार्टी विभाजन उन्मुख बनेको हो ।
आइतबार अध्यक्ष ठाकुरले बोलाएको केन्द्रीय समिति बैठकलाई वरिष्ठ नेता महतो समूहले बहिस्कार गरेको छ । महतो समूहले अध्यक्ष ठाकुरले मनोमानी गरेको आरोप लगाएको छ । केन्द्रीय समिति सदस्य चयनमा मनोमानी गरिएको, बैठक सञ्चालनका विषयमा एकलौटी गरिएको जस्ता आरोप महतो समूहको छ ।
आइतबारको केन्द्रीय समिति बैठक बहिस्कार गरेका महतोले पार्टीभित्र मधेशी नेताहरुकै अपमान हुन थालेको आरोप लगाएका छन् । उनले मधेशीलाई नै केन्द्रीय समितिमा नसमेटिएको बताएका छन् ।
“मैले बैठक बहिष्कार गरेँ, मलाई उहाँ (महन्थ ठाकुर)को शैली चित्त बुझेन”, महतोले सञ्चार माध्यमसँगको कुराकानीमा भनेका छन्, “के गर्ने १ यो उहाँको कार्यशैली नै बनिसक्यो । करेक्सन गर्छु, सुधार गर्छु भन्ने, तर नगर्ने । मधेशवादको केही सम्मान भएन ।”
पछिल्लो विवादहरुसँगै महतोले बेग्लै पार्टी निर्माणको तयारी थालेको बुझिएको छ । पार्टीभित्र बहुमत पुर्याएर विभाजनको तयारीमा महतो रहेको उनी निकटका एक नेताले बताएका छन् ।
“अब सँगै रहने अवस्था रहेन, सके बहुमत पुर्याएर नेतृत्व लिने, नभए विभाजन गरेर अर्को पार्टी बनाउने स्थितिमा उहाँ (महतो) पुग्नुभयो”, ति नेताले भनेका छन्, “समझदारीबाट अगाडि बढ्ने सम्भावना टरिसक्यो ।”
ती नेताले बताएअनुसार आगामी माघ ५ गते (मधेश बलिदानी दिवस)का दिन नयाँ पार्टीको घोषणा हुनसक्छ । ती नेताले बताएअनुसार पुरानो नेपाल सद्भावना पार्टी ब्यूँताउने अवस्था हुनसक्ने सम्भावना छ ।
महतो गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीबाट राजनीतिमा उदाएका थिए । पछि आफ्नै नेतृत्वमा सद्भावना पार्टी गठन गरेका उनी मधेश आन्दोलनपछिका केही वर्षमा विभिन्न मधेशवादी दलसँग मिलेर राष्ट्रिय जनता पार्टी गठन गरे ।
महन्थ ठाकुरसँग महतोको त्यही समयदेखि नै सहकार्य सुरु भएको थियो । तर, राजपा गठनसँगै पनि दुई नेताबीच खास मेल भने थिएन ।
पार्टी विवादकै बीच राजपाले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग एकीकरण गरेको थियो । पार्टी एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) राखिएको थियो । तर, दुई वर्षअघि नेतृत्वकै विषयमा विवाद हुँदा पार्टी विभाजित बनेको थियो ।
विभाजनकाे संघारमा पुगेकाे लोसपाको संघीय सदनमा चार सांसद छन् भने मधेशमा नौ र लुम्बिनीमा तीन सांसद छन् ।