काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । उनले मंसिर २० गते नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका थिए ।
तर, गजुरेलले राजीनामा दिनुको कारणबारे भने केही खुलाएका छैनन् । प्रधानमन्त्रीलाई राजीनामा बुझाएसँगै गजुरेल सिंहदरबार पनि जान छाडेका छन् ।
“मैंले मंसिर २० गते प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको हुँ, त्यसयता सिंहदरबार गएको छैन”, सुत्रसँगको कुराकानीमा उनले भनेका छन्, “तर, कारणहरु पछि सार्वजनिक गर्नेछु ।”
माओवादी केन्द्रमा उपमहासचिवको समेत जिम्मेवारीमा समेत रहेका गजुरेललाई २०७९ माघ ९ मा प्रधानमन्त्रीले मन्त्रीसरहको सुविधासहित प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । सल्लाहकारमा नियुक्त गरेपनि आफूलाई भूमिका बिहीन बनाइएको भन्दै उनले असन्तुष्टि जनाउँदै आएका थिए ।
गजुरेलले कारण सार्वजनिक नगरेपनि उनी निकटस्थले बताएअनुसार प्रचण्ड स्वयम्ले वेवास्ता गरेपछि जिम्मेवारीबाट बाहिरिएका हुन् । बताइएअनुसार प्रधानमन्त्रीको सचिवालयमा छोरी गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ललगायतले नै सबै जिम्मेवारी हेर्ने गरेका छन् ।