काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री प्रकरणमा आफू र छोरी गंगा दाहालको नाम जोडेर चर्चा गरिएको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आक्रोश पोखेका छन् । सोमबार प्रेस सेन्टर नेपालले पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यसको प्रतिवाद गर्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन गरे ।
प्रधानमन्त्रीले अतिवादी, अराजकतावादी निकै आतंकित भएको भन्दै उनीहरूले व्यवस्था र परिवर्तनमाथि प्रहार गरिरहेको बताए ।
एनसेलको शेयर खरिद–बिक्री शंकास्पद देखिएर आफैंले अनुसन्धानको लागि निर्देशन दिएको भन्दै आफैंमाथि प्रश्न उठाउनु निकै निन्दनीय भएको उनको भनाई छ ।
“म युएइमा भएको बेला एनसेल खरिद–बिक्री भयो भन्ने सुने, यसमा सतर्कतापूर्वक अनुसन्धान गर्न मैले उतैबाट निर्देशन दिएँ, नेपाल आएको भोलिपल्टै यसमा के–कस्तो प्रभाव पर्छ भनेर मुख्य सचिवसहित सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएँ , त्यतिमात्र नभइ गठबन्धनलाई पनि विश्वासमा लिनुपर्छ भनेर यो स्वभाविक छैन, यहाँ गडबढ छ भन्ने लागेर बैठक बोलाएँ, लगत्तै क्याविनेट बैठकबाट छानबिनका लागि समिति गठन भयो”, प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “तर अतिवादीहरूबाट दुस्प्रचार र घटिया रुपमा प्रचार गरियो ।”
केही दलका सांसद र केही सञ्चार माध्यमले एनसेल प्रकरणमा स्वयम् प्रधानमन्त्री संलग्नता भएको आरोप लगाएका छन् । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सार्वजनिकरुपमै प्रधानमन्त्री र उनकी छोरीको संलग्नताबारे प्रमाण सार्वजनिक गर्ने चेतावनी दिएका छन् । जुन अभिव्यक्तिहरु पछि प्रधानमन्त्रीले पछिल्लो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।
सम्बन्धित समाचार
अमरेशले प्रश्न उठाएपछि प्रधानमन्त्री सचिवालयले जनायाे आपत्ति, भन्याे– अराजनीतिक बार्गेनिङ