काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छेमा बोली भएकाले संवादबाट असहमति राख्नु पर्ने बताएका छन् ।
बैतडीबाट सुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को १७ दिन पाँचथरको फिदिममा सभालाई सम्बोधन गर्दै उनले संवादबाट असहमति राख्नु पर्ने बताएका हुन् ।
‘गाई गोरुको मात्रै बोली हुँदैन, असहमति प्रकट गर्न घ्याच्च सिङ्गले हान्छ,’ उनले भने, ‘मान्छेको बोली छ, घ्याच्च हान्न पाइँदैन ।’ यसै क्रममा उनले सबैले निर्भय वातावरणमा हिँड्न पाउनु पर्ने भन्दै लोकतन्त्रमा सबैले आफ्ना कार्यक्रम गर्न पाउने बताए ।
गत बिहीबार मात्रै अध्यक्ष ओलीमाथि हातपात भएको थियो । यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका ओलीमाथि आक्रमण भएको हो ।
फूलमाला र अविरले स्वागत क्रममा एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए । ओलीमाथि आक्रमणलगत्तै एमाले कार्यकर्ताले आक्रमण गर्ने व्यक्तिमाथि हातपात गरेका थिए ।