काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य समितिको तीन दिने बैठक आइतबारबाट सुरु भएको छ । बैठक पुस ३ गतेसम्म जारी रहने छ ।
काठमाडौंको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा अहिले बैठक सुरु भएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अहिले बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ‘ब्रिफिङ’ गरेका छन् । त्यसपछि कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुने कार्य तालिका रहेको छ ।
यसैगरी तीन दिने बैठकमा भूगोल केन्द्रीत कार्यक्रमको समिक्षा र समूहगत छलफल हुने, पार्टीले निकट भविष्यमा सञ्चालन गर्ने तथा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धि प्रस्तावमाथि पनि छलफलका लागि पेश हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।