काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य समितिको तीन दिने बैठक काठमाडौंको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहानदेखि जारी छ ।
बैठकको प्रारम्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रस्ताव पेस गरेका थिए । उनले सत्ता केन्द्रीत नभइ आमजनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक सङ्घर्षलाई प्राथमिकता दिने पार्टीको कार्य नीति हुने प्रष्ट पारेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
बैठकमा महामन्त्री डा. धवलसमशेर राणाले वृहत आन्दोलनसम्बन्धी कार्य योजना, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदारबहादुर अधिकारीले सचिवालयसम्बन्धी प्रतिवेदन पेस गर्नुभएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।
उनले भने, ‘अहिले प्रदेश प्रमुखले आ–आफ्नो प्रदेशको प्रतिवेदन पेस गर्दै हुनुहुन्छ । सबै प्रदेशको प्रतिवेदन पेस भइसकेपछि आजै छलफल प्रारम्भ हुनेछ ।’