काठमाडौं । सरकारमा सहभागि मन्त्रीहरुको रिपोर्टकार्ड सन्तोषजनक नभइरहँदा मन्त्रीपरिषद् फेरबदलको चर्चा चलिरहेको छ । सत्तारुढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसभित्र पनि सो विषयमा छलफल भइरहेको पाइन्छ ।
तर, सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्री फेरबदलको सम्भावना तत्काल नरहेको बताएकी छन् । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले मन्त्री हेरफेरबारे कुनै छलफल नभएको बताएकी हुन् ।
उनका अनुसार मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुनसक्ने सम्भावना भएपनि मन्त्रीपरिषद्कै सेट परिवर्तन हुने अवस्था छैन । “जिम्मेवारी हेरफेर, सेट चेन्जका कुरा उठेका छन्, त्यस्तो कुनै छलफल भएको छैन, आवश्यकता अनुसार त्यस्तो हुनै हुँदैन भन्ने होइन, तर अहिले त्यस्तो छलफल भएको छैन”, उनले भनेकी छिन् ।
गठबन्धनको बीचमा अहिले तत्काल मन्त्रीहरु हेरफेर गरेर जाने विषयमा छलफल भएको छैन । “बाहिर आएको जस्तो हाम्रो गठबन्धनभित्र, हाम्रो राजनीतिक दलहरु भित्र छलफलको विषय बनेको छैन”, उनले अगाडि भनेकी छिन् ।
सरकारमा सहभागि मन्त्रीहरुको कार्यसम्पादनमाथि उठिरहेको प्रश्नमा भने मन्त्री शर्माले बचाउ गरेकी छिन् । उनले सरकारले लय नगुमाएको र उद्देश्यमा सफल भएको बताएकी छिन् ।